काठमाडौं । नेपाली क्रिकेटरहरूको स्तरवृद्धिका लागि नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु क्रिकेट प्रतियोगितामा समावेश गरेको कार्यक्रम हो, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता । यसको मुख्य उद्देश्य ५० ओभरको एकदिवसीय क्रिकेटमा क्रिकेटरहरूलाई सक्षम बनाउनु हो, जुन आईसीसीको दोस्रो ठूलो संरचना मानिन्छ ।
सन् २०१७ देखि सुरु गरिएको यस प्रतियोगिताका हालसम्म सात संस्करण पूरा भइसकेका छन् । र, अहिले आठौँ संस्करण चलिरहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब गरी तीन विभागीय टिमसहित हरेक प्रदेशबाट एक–एक टिम गरी कुल १० टिमको सहभागिता छ ।
प्रतियोगितामा १० टिमबाट राष्ट्रिय तथा स्थानीय क्रिकेटरहरूले आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन् । हालसम्म प्रतियोगितामा ३२ खेल सम्पन्न भएका छन् । यहाँसम्म आइपुग्दा प्रतियोगितामा केही नयाँ प्रतिभाको उदय भएको छ ।
विशेष गरी, प्रतियोगितामा शतक प्रहार गर्ने क्रिकेटरको सूची हेर्नलायक बनेको छ । ३२ खेल भइसक्दा ६ क्रिकेटरहरूले शतक प्रहार गरेका छन् । यसमा अधिकांश क्रिकेटरको पृष्ठभूमि राष्ट्रिय टिमबाहिरको छ । यसरी हेर्दा शतक प्रहार गर्ने क्रिकेटरहरूमा ‘लोकल’ क्रिकेटरहरूको वर्चस्व छ ।
यी हुन् शतक प्रहार गर्ने ६ खेलाडी
प्रधानमन्त्री कपमा ३२ खेल भइसक्दा ६ खेलाडीले १०० रन पूरा गरेका छन् । शतक प्रहार गर्ने खेलाडीमा आर्मीका दुई; पुलिस, एपीएफ, लुम्बिनी र गण्डकीका समान एक–एक क्रिकेटर छन् ।
वसिर अहमद ( त्रिभुवन आर्मी क्लब)
विभागीय टिम त्रिभुवन आर्मी क्लबका वसिर अहमद शतक प्रहार गर्ने प्रतियोगिताको पहिलो खेलाडी हुन् । वसिरले आर्मीको पहिलो खेलमा शतक प्रहार गरेका थिए । पुलिसविरुद्धको उक्त खेलमा वसिरले आठ चौका र दुई छक्कासहित शतक रन जोडेका थिए ।
खेलमा वसिरले पाँचौँ विकेटका निम्ति टोलीका भीम सार्कीसँग ८२ रनको अर्धशतकीय साझेदारी गरेका थिए । हालसम्म उनले प्रतियोगितामा चार इनिङ खेल्दा १९० रन जोडेका छन् । उनको स्ट्राइक रेट ९२.२३ रहेको छ ।
रन्जित खड्का (लुम्बिनी)
शतक प्रहार गर्ने सूचीको दोस्रो स्थानमा लुम्बिनी प्रदेशका रन्जित खड्का छन् । रन्जितले अप्रिल ५ मा सम्पन्न विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए । उनले १३ चौका र तीन छक्कासहित शतक प्रहार गरेका थिए ।
खेलमा रन्जितले दोस्रो विकेटको निम्ति टोलीका आकाश त्रिपाठीसँग ८० रनको अर्ध शतकीय साझेदारी गरेका थिए । उनले हालसम्म प्रतियोगितामा पाँच इनिङ खेल्दा १७९ रन जोडेका छन् । अर्जुनले ९२.७४ को स्ट्राइक रेट कायम गरेका छन् ।
शंकर राना (नेपाल पुलिस क्लब)
विभागीय टिम नेपाल पुलिस क्लबका शंकर राना शतक प्रहार गर्ने सूचीको तेस्रो स्थानमा छन् । शंकरले गत मार्च २६ मा सम्पन्न वाग्मती प्रदेशविरुद्धको खेलमा ११६ रनको शतकीय इनिङ खेले थिए । उनले १२८ बलमा १३ चौका र चार छक्कासहित शतक रन जोडे ।
खेलमा शंकरले ओपनर दिनेश खरेलसँग १५९ रनको शतकीय साझेदारी गरेका थिए । उनले हालसम्म प्रतियोगितामा पाँच इनिङ खेल्दा २६२ रन जोडेका छन् । उनको स्ट्राइक रेट ८९.६९ छ ।
अर्जुन साउद (त्रिभुवन आर्मी क्लब)
अर्जुन साउद शतक प्रहार गर्ने क्रिकेटरको चौथो स्थानमा छन् । उनी विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन् । साउदले हिजो (सोमबार) सम्पन्न कर्णाली प्रदेशविरुद्ध १२१ रनको शतकीय इनिङ खेलेका थिए । शतक पूरा गर्ने क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।
खेलमा उनले पाँचौँ विकेटको निम्ति टोलीका वसिर अहमदसँग ९९ रनको साझेदारी गरेका थिए । हालसम्म उनले आफ्नो खातामा पाँच इनिङ खेल्दा १४६ रन जोडेका छन् । उनको स्ट्राइक रेट ९०.१२ रहेको छ ।
अर्जुन कुमाल (गण्डकी)
गण्डकी प्रदेशका अर्जुन कुमाल शतक प्रहार गर्ने खेलाडीको सूचीमा त छन् नै, उनी प्रतियोगितामा हालसम्मका ‘हाई स्कोर’ खेलाडी पनि हुन् । उनी सर्वाधिक ३४६ रनसहित शीर्ष सूचीमा छन् । साथै, कुमालले दुई अर्धशतक पनि हानिसकेका छन् । उनको स्ट्राइक रेट ७२.८४ छ ।
उनी यो प्रतियोगितामा हालसम्म १०० रन पूरा गर्ने पाँचौँ क्रिकेटर हुन् । उनले अप्रिल ४ मा सम्पन्न कोसी प्रदेशविरुद्धको खेलमा १०२ रनको शतकीय इनिङ खेलेका थिए । कोसीको जितमा निर्णायक साबित भएका अर्जुनले आठ चौका प्रहार गरेका थिए ।
खेलमा उनले छैटौँ विकेटका निम्ति विपिन खत्रीसँग १६६ रनको शतकीय साझेदारी गरेका थिए ।
आसिफ शेख (एपीएफ क्लब)
आसिफ शेख शतक प्रहार गर्ने सूचीको अन्तिम स्थानमा छन् । आसिफ विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेलिरहेका छन् । उनले टोलीको पहिलो खेलमा ११४ रनको शतकीय इनिङ खेलेका थिए । वाग्मती प्रदेशविरुद्ध आसिफले शतक प्रहार गर्ने क्रममा १४ चौका र तीन छक्का प्रहार गरेका थिए ।
खेलमा उनले तेस्रो विकेटको निम्ति सन्दीप जोरासँग १०३ रनको साझेदारी गरेका थिए । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका उनले एपीएफबाट सात खेल खेल्दा ११५ रन आफ्नो नाममा ल्याएका छन् । आसिफले ११६.४३ को स्ट्राइक रेट कायम गरेका छन् ।
प्रधानमन्त्री कपको हालसम्मको तथ्याकं हेर्दा क्यानको उद्देश्य पूरा हुँदै गएको देखिन्छ । ६ खेलाडीले शतक प्रहार गर्दा राष्ट्रिय टिमको जर्सी लगाएका एक मात्र क्रिकेटरको उपस्थिति छ । बाँकी स्थानीय क्रिकेटहरूकै दबदबा छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) र त्यसपछि टी–२० विश्वकपमा केन्द्रित हुँदा नेपाली खेलाडीहरू २० ओभरको खेलमा केन्द्रित भएको देखिएको थियो । तर, पीएम कपले खेलाडीलाई ५० ओभरको खेलतिर अभ्यस्त हुन बानी पारेको छ । टोलीले छिट्टै आईसीसी विश्वकप लिग–२ का खेल काठमाडौंमा खेल्दै छ । उक्त लिगमा नेपाललाई राम्रो नतिजा निकाल्नै पर्ने दबाब छ ।




प्रतिक्रिया दिनुहोस्