युवालाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ४० वर्षमुनिका युवाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नेकपाले ४५ जनाको कार्यसंयोजन समिति गठन गर्दा युवालाई नसमेटिएको भन्दै असन्तुष्टि जनाउँदै आएका ती युवाहरूले सोमबार संयोजक प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
‘हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार कार्य गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गर्दै आएको सर्वविदितै भएको उल्लेख गरेको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्रमा जेन–जी उम्मेदवारहरू सिफारिस गर्ने परिपत्र जारी भएता पनि एक जना पनि जेन–जी उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गर्न नसक्नु दुःखद र चिन्ताजनक विषय हो ।’
त्यसैगरी, समानुपातिक बन्दसूचीमा समेत ४० वर्षमुनिका एक जना युवासमेत समावेश नगरिनु पार्टीको युवाप्रति असंवेदनशीलताको स्पष्ट संकेत भएको उल्लेख गरिएको छ ।
पछिल्लो समय पार्टी एकताको सन्दर्भमा विभिन्न तहका कमिटीहरू मर्ज गर्दा, विधानमा व्यवस्था भएका प्रावधानहरूलाई समेत बेवास्ता गरी युवाको प्रतिनिधित्व शून्यतर्फ धकेलिएकाले पार्टीमा आबद्ध लाखौँ युवाहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय, संयोजन समितिलगायत सबै तहका कमिटीहरूमा कम्तीमा ६० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग रहेको युवा नेता भुवन विष्टले शिलापत्रलाई बताए । उनले भने, ‘चुनावमा पार्टीको काममा युवाहरूलाई जिम्मेवारी दिने, तर अवसर नदिने प्रवृति झन् झन् बढ्दै गएकाले पहिलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । यदि हाम्रो मागलाई हल्का रूपमा लिएमा पार्टी कार्यालयमा आमरण अनशन बस्न युवाहरू तयार छौँ ।’
प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्षमुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा र्टी स्वीकार गर्नुपर्ने माग पनि रहेको विष्ट बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्