राष्ट्रिय खेकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ने पछिल्लो परिस्थितीमाथि प्रतिक्रिया जनाउँदै पत्राचार गरेको छ ।
फिफाले राखेपको निलम्बनलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ को रूपमा लिँदै स्थगित भएको चुनाव तत्काल गर्न निर्देशन दिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार फिफाले यसअघि रोकिएकै अवस्थाबाट प्रक्रिया पुनः सुरु गरी ७ दिनभित्र चुनाव गर्न निर्देशन दिएको छ ।
यदि राखेपले निलम्बन फुवुवा नगरे तथा पत्र प्राप्त भएको ७ दिन भित्र आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरी सम्पन्न गर्न सक्ने कुरा लिखितरूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेश गर्ने फिफाले चेतावनी पनि दिएको छ ।
पटकपटकको निर्देशन तथा सरोकारवालाको विरोधका बावजुद ५ असारसम्म कार्यकाल रहेको नेतृत्वले १३ चैतमा झापामा चुनाव गर्न खोजेपछि राखेपले ११ चैतमा एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो । राखेपले निलम्बन गर्ने क्रममा एन्फालाई ३ महिनाभित्र पूरा गर्न भन्दै ११ बुँदे निर्देशन दिएको थियो ।
निलम्बनमा परेपछि एन्फाले १२ चैतमा फिफा तथा एएफसीका प्रतिनिधिहरूको सहमतीमा चुनाव स्थगित गरेको थियो ।
कार्यकाल सकिनु भन्दा तीन महिनाअगाडि नै गर्न खोजिएको चुनावमा एन्फा नेतृत्वले ४ वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप ४ वर्षका लागि केन्द्रमा आफू अनुमोदित हुने रणनीति बनाएको थियो । सरोकारवाला तथा राखेपले भने पहिला जिल्लाको चुनाव गरेर नयाँ प्रतिनिधि ल्याएर मात्र चुनाव गर्नुपर्ने अडान राखेका थिए ।
यस्तै, काठमाडौंमा ‘ए’ र ‘बी’ डिभिजनका क्लब तथा अध्यक्षमा पंकजविक्रम नेम्वाङविरुद्ध उम्मेदवारी दिएका दीर्घबहादुर केसी (कुमार)को प्यानलले संयुक्त पत्रकार सम्मेलन गर्दै राखेपले नगर्नु भनेर निर्देशन दिएको चुनाव ‘अवैधानिक रहेकाले भाग नलिने’ घोषणा गरेका थिए ।
यदि फिफाबाट एन्फा निलम्बनमा परे नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन, फिफा र एएफसीबाट प्राप्त हुने सबै विकास कोष र आर्थिक सहयोग रोक्का हुनेछ । यसैगरी, फिफाका अन्य सदस्य राष्ट्रहरूले एन्फासँग कुनै पनि प्रकारको खेलकुदका कार्यक्रम गर्न पाउने छैनन् ।




प्रतिक्रिया दिनुहोस्