विश्व फुटबलको महाकुम्भ अर्थात् फिफा विश्वकप २०२६ को महासंग्रामका लागि ४८ टोलीको नामावली टुंगो लागेसँगै खेल जगतमा एक प्रकारको उत्साह र कौतूहलता छाएको छ । सन् २०२३ को सेप्टेम्बरदेखि सुरु भएको छनोट प्रक्रियाको सुखद अन्त्य गर्दै डेमोक्रेटिक रिपब्लिक अफ कंगो र इराकले अन्तिम दुई स्थान सुरक्षित गरेपछि यसपटकको विश्वकपमा ४८ टोली लागेको हो ।
संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो २३औँ संस्करण जुन ११ देखि जुलाई १९ सम्म उत्तर अमेरिकाका विभिन्न सहरहरूमा गुञ्जिनेछ । विशेषगरी छनोटको अन्तिम चरणमा चार पटकको विजेता इटालीलाई बोस्निया–हर्जगोभिनाले स्तब्ध पार्दै बाहिर पठाउनु र टर्की, स्वीडेन तथा चेक रिपब्लिक जस्ता टोलीले उत्कृष्ट पुनरागमन गर्दै आफ्नो स्थान पक्का गर्नुले यसपटकको प्रतिस्पर्धा कति अनपेक्षित हुनेछ भन्ने पूर्वसंकेत गरिसकेको छ ।
यसपटकको विश्वकप प्राविधिक र संरचनात्मक दुवै हिसाबले ऐतिहासिक हुनेछ । कतार विश्वकपमा ३२ टोली सहभागी भएकोमा यसपटक १६ टोली थपिएर कुल ४८ राष्ट्रले मैदानमा उत्रने अवसर पाउनेछन् । यससँगै खेलको संख्या पनि ६४ बाट बढेर १ सय ४ पुगेको छ, जसलाई तीन देशका १६ सहरमा खेलाइनेछ । प्रतियोगिताको अवधि पनि बढाएर कीर्तिमानी ३९ दिन पु¥याइएको छ, जहाँ १२ वटा समूहमा चार–चार टोली रहनेछन् ।
उद्घघाटनको भव्य समारोह जुन ११ मा मेक्सिकोको ऐतिहासिक ‘एस्टाडियो एज्डेका’ रंगशालामा हुनेछ, जहाँ आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन् । समूह चरणका उत्कृष्ट दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली अन्तिम ३२ को नकआउट चरणमा प्रवेश गर्ने नयाँ प्रणालीले गर्दा एउटा सानो गल्ती पनि कुनै पनि टोलीका लागि घर फर्कने बाटो बन्न सक्छ । विश्व फुटबलको नयाँ विश्वविजेता भने जुलाई १९ मा न्युजर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनल भिडन्तबाट निश्चित हुनेछ ।
भौगोलिक विशालता र समयको विविधता यो विश्वकपको अर्को चुनौतीपूर्ण पाटो हो ।
चार फरक ‘टाइम जोन’ र हजारौँ माइलको दूरीमा खेलहरू आयोजना हुने भएकाले कुल १३ वटा फरक–फरक समयमा खेलहरू सुरु हुनेछन् । युरोप र एसियाका दर्शकहरूका लागि धेरैजसो निर्णायक खेलहरू मध्यरात वा बिहान सबेरै हुनेछन् । तथ्याङ्क अनुसार ७२ समूह चरणका खेलहरूमध्ये झन्डै आधा खेलहरू अन्तर्राष्ट्रिय समय अनुसार मध्यरातदेखि बिहान ५ बजेसम्म पर्नेछन् । यसको अर्थ नेपाली फुटबल प्रेमीहरूले आफ्ना मनपर्ने टोलीको समर्थनका लागि निद्रा र आरामलाई थाती राख्नुपर्नेछ ।
मैदानमा उपाधिको दावेदारका रूपमा युरोपेली च्याम्पियन स्पेन सबैभन्दा अगाडि देखिएको छ । पेड्रि र लामिन यामल जस्ता ‘वन्डर किड्स’ र २०२४ का बालोन डी ओर विजेता रोड्रीको जादुमयी उपस्थितिले स्पेनिस टोलीलाई निकै सन्तुलित बनाएको छ । त्यस्तै, थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्ड पनि यसपटक उपाधिको प्रबल दावेदारको रुपमा देखिएको छ । छनोटका सबै खेल जितेर र एक गोल पनि नखाई विश्वकपमा स्थान बनाएको इङ्ल्यान्डसँग जुड बेलिङ्घम र ह्यारी केन जस्ता विश्वस्तरीय नामहरू छन् ।
साविक विजेता अर्जेन्टिना र स्टार खेलाडी क्लियन एम्बाप्पेको फ्रान्सलाई पनि प्रमुख दावेदार मानिएको छ । दक्षिण अमेरिकी छनोटमा संघर्ष गरेको पाँच पटकको विजेता ब्राजिलले आफ्नो ‘साम्बा’ जादु फर्कनेमा आशा राखेको छ भने अर्लिङ हालान्डको नर्वे र अफ्रिकी पावरहाउस मोरक्कोले यसपटक ‘जायन्ट किलर’ को भूमिका निभाउन सक्ने आकलन गरिएको छ ।
यो विश्वकप साना र उदाउँदा राष्ट्रहरूका लागि आफ्नो अस्तित्व प्रमाणित गर्ने स्वर्णिम मञ्च पनि हो ।
क्यारिबियन टापु कुरासाओ, जसको जनसंख्या केबल १ लाख ५० हजार मात्र छ, विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्रको रूपमा उभिएको छ । त्यस्तै, केप भर्डे, उज्वेकिस्तान र जोर्डन जस्ता राष्ट्रहरूले पहिलो पटक विश्वकपको मञ्चमा पाइला टेक्दै नयाँ इतिहास कोर्दैछन् ।
उज्वेकिस्तानले फाबियो कानाभारोको अनुभवी नेतृत्वमा लामो प्रतीक्षापछि यो सफलता हात पारेको हो । एकातिर स्थापित फुटबल शक्तिहरूको साख जोगाउने चुनौती र अर्कोतिर नयाँ टोलीहरूको केही गरिछाड्ने हुटहुटी, यी दुईको सम्मिश्रणले २०२६ को विश्वकपलाई केवल एक प्रतियोगिता मात्र नभई फुटबलको एउटा महाउत्सव बनाउने पक्का छ । अबको केही महिनापछि मेक्सिको सिटीमा बज्ने पहिलो सिठ्ठीसँगै विश्वको ध्यान उत्तर अमेरिकातिर केन्द्रित हुनेछ ।




प्रतिक्रिया दिनुहोस्