कैलाली :- कैलाली–५ का प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्दले थारू समुदायमा बढी देखिँदै आएका सिकल सेल र थालासेमिया जस्ता रगतसम्बन्धी रोगको रोकथाम र उपचारलाई प्राथमिकतामा राख्दै पहल तीव्र बनाएका छन्।
यसै सन्दर्भमा, वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुर तथा रक्तरोग विशेषज्ञ डा. नीरज सिंहलगायत विशेषज्ञ चिकित्सकहरूसँग विस्तृत छलफल गरिएको छ। छलफलमा राजनीतिक नेतृत्वतर्फबाट लक्ष्मण थारू र प्रकाश विष्टको पनि सहभागिता रहेको थियो।
छलफलका क्रममा रोगको दीर्घकालीन समाधानका उपायहरूबारे महत्वपूर्ण सुझावहरू प्राप्त भएको जनाइएको छ। विशेषगरी कैलाली क्षेत्र नं. ५ सहित थारू बाहुल्य क्षेत्रमा यी रोगहरूको जोखिम उच्च रहेकाले अब मास स्क्रिनिङ, जनचेतना अभिवृद्धि तथा सहज उपचार सेवा विस्तारका लागि आवश्यक पहल अघि बढाइने बताइएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा समेत उक्त विषयमा ध्यानाकर्षण गराउँदै आवश्यक बजेटको माग गरिएको थियो। अब प्राविधिक तथा नीतिगत रूपमा ठोस कदम चाल्न निरन्तर पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।




प्रतिक्रिया दिनुहोस्