धनगढीमा रहेको सुदूरपश्चिमकै चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्य शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा भोलि बिहीबार हनुमान जयन्ती विशेष उत्सवका रूपमा मनाइने तयारी गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ मा अवस्थित यस धाममा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको दिन हनुमान जयन्ती उल्लासपूर्वक मनाइँदै आएको छ। धार्मिक मान्यताअनुसार यही दिन हनुमानको जन्म भएको विश्वास गरिन्छ, जसका कारण हिन्दू धर्मावलम्बीहरूले विशेष पूजा–आराधना गरी यस पर्वलाई महत्वका साथ मनाउने गर्छन्।
धामका मूल पुजारी हरिनारायण भट्टका अनुसार हनुमानले दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको विश्वासले भक्तजनहरूमा अझ गहिरो आस्था रहेको छ। पूजा गर्दा रातो वस्त्र, फूल, चन्दन र चना अर्पण गर्ने परम्परा रहेको पनि उनले बताए।
त्यसैगरी, हनुमानको आराधनाले शनि दशाको प्रभाव कम हुने धार्मिक विश्वास रहेको उल्लेख गर्दै उनले यो पूजा अत्यन्त फलदायी मानिने बताए।
यस वर्ष पनि शिवपुरी धाममा हनुमान जयन्ती भव्य रूपमा मनाउन तयारी पूरा गरिएको छ। भोलि बिहान ८ बजेदेखि हवन सुरु हुने कार्यक्रम तय गरिएको छ। मन्दिर व्यवस्थापन समितिले प्रदेशभरिका भक्तजनहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्