१८ चैत, काठमाडौं । मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन् ।
प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन् ।
बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोले एकजना कांग्रेसबाट र अरु सबै रास्वपाबाटै निर्वाचित हुन् ।
१२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए । बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।
बैठकको सुरुवातमा छलफलको उद्धेश्यबारे प्रधानमन्त्री कार्यालयका असिम शाहले छोटो ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री बालेन शाह बैठक तोकिएको समयमा बैठकमा प्रवेश गरे । ‘बजेटअघि सर्ट टर्ममा गर्न सकिने र अत्यावश्यक कामहरू के–के हुन्, तपाईंहरूले आफ्नो सुझाव राख्नुहोस्,’ सांसदहरुसँग बालेनले भने ।
छलफलमा सहभागी सांसदहरुका अनुसार, बालेनले करिब डेढ मिनेट बजेटअघि आफूले सांसदहरुलाई त्यसमा समेट्नुपर्ने विषयबारे बुझ्न खोजेको बताएपछि सांसदहरुले क्रमश: आफ्नो भनाई राख्न थाले ।
छलफलमा सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका समस्याहरू राखेका थिए ।
अधिकांश सांसदले दोहोर्याएर उठाएका मुख्य मुद्दाहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सडक–पुल जस्ता पूर्वाधार निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या र कोभिडकालमा बन्द गरिएका साना भन्सार (छोटी भन्सार) पुन: खोल्ने तथा सीमा व्यवस्थापनका विषय थिए ।
मिटरब्याज पीडितहरूको समस्या, ऐलानी जग्गा तथा मन्दिररपर्ती जग्गा सम्बन्धी विषय मधेशका सांसदले उठाएका थिए । साथै विकास निर्माणसँग सम्बन्धित हुलाकी राजमार्गको बिषय पनि छलफलमा उठेको थियो । सिडिओ, मालपोतजस्ता कार्यालयमा नागरिकले भोग्नुपरेको सास्ती, प्रदेशस्तरका ठूला भ्रष्टाचारका फाइलहरू छानबिन गर्नुपर्ने माग पनि बैठकमा उठेको थियो ।
त्यत्रा सांसद उपस्थित हुँदा कुनै सवालजवाफ र प्रश्नोत्तर भएन । सबैले एकोहोरो आफ्नो भनाई राख्दै गए । प्रधानमन्त्री सचिवालयले उक्त कुरा नोट गर्दै गयो ।
सबै सांसदले दुईदेखि पाँच मिनेटसम्म आफ्नो कुरा राखेका थिए । सबैले आफ्ना माग राखेपछि प्रधानमन्त्री बालेन शाहले अन्त्यमा फेरी छोटो भनाइ राखे ।
सबै सांसदहरूले राखेका कुराहरू सचिवालयले टिपोट गरेको बताउँदै उनले ‘कुन मन्त्रालयको जिम्मेवारीमा पर्छ, त्यहीअनुसार समाधान गर्ने प्रयास गर्छौँ र छोटो अवधिमा गर्न सकिने कामहरू छिट्टै अघि बढाउँछौं’ भने ।
र, तीन घण्टे बैठक समापन भयो ।
वैठक अवधिभर धेरै सुनेका बालेनले सुरु र अन्तिममा गरी जम्मा पाँच मिनेटमात्र आफ्नो कुरा राखेको छलफलमा सहभागी एक सांसदले बताए ।
उनले भने, ‘उहाँले सुन्नुमात्र भयो । सचिवालयले टिपोट गर्यो । सुरु र अन्तिममा औपचारिक रुपमा थोरै बोल्नुभयो । हामीले पनि उठाएका धेरै मुद्दाहरू दोहोरिएका थिए । हामीले उठाएका मागका विषयमा आवश्यक दस्तावेज सचिवालयमा बुझाउन पनि आग्रह गर्नुभयो ।’
यसअघि प्रधानमन्त्री बालेनले कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग भेटघाट गरिसकेका छन् ।प्रत्यक्ष सिटसमानुपातिक




प्रतिक्रिया दिनुहोस्