काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको आन्तरिक संरचना र आगामी महाधिवेशनलाई लक्षित गरी आजदेखि दुई दिने बैठक बोलाएको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुने बैठकले पार्टीको आगामी कार्यदिशा र संस्थापन पक्ष (देउवा समूह) विरुद्धको रणनीतिक योजना तयार गर्ने अपेक्षा गरिएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावमा केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ मा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो । संस्थापनइतर समूहले बैठकलाई आफ्नो पक्षबाट सशक्त उम्मेदवारी र एजेन्डा तय गर्ने प्लेटफर्मको रूपमा प्रयोग गर्ने बताइएको छ ।
बैठकमा डा. शेखर कोइराला, गगन थापा लगायतका प्रभावशाली नेताहरू सहभागी हुनेछन् । यसै सन्दर्भमा १९ चैतमा जिल्ला सभापतिहरूको भेला बोलाइएको छ र आजको बैठकले त्यहाँ लैजाने साझा धारणा पनि तय गर्ने बुझिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस बैठकको निर्णयले कांग्रेसभित्रको शक्ति संघर्षलाई नयाँ मोडमा पुर्याउन सक्ने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्