जे–जे नहुनु थियो, सबै भएको थियो । बेचैनी, निराशा र दुखान्तले हरेकको मन पिरोलिएको थियो । रगतको टाटो सुकेको थिएन, खरानीको थुप्रो सेलाएको थिएन, धुँवाको मुश्लो हराएको थिएन ।
कुनै एक्सन थ्रिलर सिनेमाको क्लाइमेक्सजस्तै थियो त्यो त्रासद याम ।
अनौठो सन्नटा र अनिश्चयको घडीमा सुस्ताएर बस्ने छुट थिएन, प्रहरीलाई । जसोतसो तंग्रिएर उनीहरू सडकमा आउनैपर्थ्यो, छरपस्ट सरसामन हटाउनैपर्थ्यो, हराएका मालमत्ता खोज्नैपर्थ्यो, भग्न संरचनामा पस्नैपर्थ्यो । आफ्नो ड्युटी जो छ, गर्नैपर्थ्यो ।
हिजो लखेटिएका र मारिएका साथीभाइ सम्झिएर उनीहरू हतासिएका त थिए । आफ्नो कार्यस्थल उजाडिएको देखेर उनीहरू विरत्तिएका त थिए । तर मन निचोरिएरै उनीहरू आ-आफ्नो ठाउँमा तैनाथ भए । कोही फ्याटफ्याटे चप्पल लगाएर ट्राफिक व्यवस्थापनमा लागे, कोही फाटेकै लुगा लगाएर शान्ति सुरक्षामा खटिए ।
दृश्यान्तर
त्यो मध्यान्ह टुँडिखेल गुल्जार थियो । वीर रसको धून, हावामा फहराइरहेका राष्ट्रिय झन्डा, स-सना विद्यार्थीको लयबद्ध झाँकी, घोडचडीको परेड, आकाशबाट पृष्पवृष्टि । त्यो उत्सवमय क्षणमा प्रहरीहरू कतै सुरक्षा कवच बनेका थिए, कतै मनोरञ्जनका हिस्सा ।
अवसर संविधान दिवसको थियो ।
हिजो जो लखेटिए, त्यही आज सुरक्षा दिँदैछन् । हिजो जो घाइते बनाइए, त्यही आज अरूलाई खुसी बाढ्दैछन् ।
छोटो अन्तरालका ती दुई विषम दृश्यले दानबहादुर कार्कीको हृदयलाई अनौठो ढंगले स्पर्श गर्यो । सबै कार्यक्रमको तामझाममा रमाइरहेका थिए । उच्च पदस्थको सवारी हुँदै थियो । तर, उनको मुटु एकतमासले धड्किएको थियो । र, त्यसको कम्पनमा कताकता बैराग्य-भाव थियो । कहिलेसम्म हामी लड्नुपर्ने ? कहिलेसम्म भाग्नुपर्ने ? कहिलेसम्म रुनुपर्ने ? कहिलेसम्म ?
यो अन्त्यहीन प्रश्नहरूको भूँइचालोले उनको मनमा अनायसै यस्तो शब्दभाव फुर्यो-
‘आमा म त फर्केर आएँ
खरानीबाट उठेर आएँ
कसरी देख्न सक्छु भाइभाइबीच तरवार चलेको
इतिहास जलेको, विश्वास ढलेको ।’
उनले मनमा उर्लिएका भावनाहरूलाई सरसर्ती मोबाइलमा टाइप गरे ।
नोस्टाल्जिया
एक ओसिलो बिहान । झमझम पानी परिरहेको बेला । बेसार पानी हो वा कुनै स्वस्थ्यबर्द्धक पेय, उनको अघिल्तिर थियो । झरीको त्यो मौसममा उनका हृदय सायद चिसिएको हुँदो हो । अलि भावुक हुँदै उनले सुनाए, ‘किनभने हामी त खरानीबाट उठेर आएका थियौं । न भवन थियो, न साधन । धेरैथोक जलेको थियो । हाम्रो मन पनि ।’
त्यो क्षण भवन मात्र होइन भावना पनि ढलेको थियो । अब के होला ? आशंका र असुरक्षाले समाज भयभीत थियो । ‘रे’को भुलभुलैया र भ्रमले समाजलाई अलमलाएको थियो । परिस्थितिको यस्तो कटमिरो मौसममा प्रहरीले आफूलाई जागा राखे । उनीहरू निदाएनन्, सुस्ताएनन् ।
दानबहादुर कार्कीले कविताकै शैलीमा सुनाए, ‘साधन नहुँदा साधनाले । भवन नहुँदा भावनाले । कानुन नहुँदा कामनाले । हामी उठ्यौं, धूलो टकटकायौं । अनि अनिदो आँखा लिएरै काममा खटियौं ।’
सडकमा रगतको टाटो पुछिरहेका प्रहरीलाई कसैले सोधेन, ‘तिमी थाकेनौं ?’
भग्न भवनको खरानी उठाइरहेका प्रहरीलाई कसैले सोधेन, ‘तिमी आत्तिएनौं ?’
शवगृहमा मृत्त शरीर रुँघिरहेका प्रहरीलाई कसैले सोधेन, ‘तिमी डराएनौं ?’
आफैंलाई हराएर, आफ्नो भावना दबाएर, आफ्नो दुःखहरू लुकाएर कसरी अरूका खातिर काम गरिरहेका छौं ? कसैले सोधेन।
प्रहरीको बर्दीभित्र कसले देख्छ ? त्यहाँ एउटा बुबा छन्, एउटी आमा छिन् । एउटा माइती छन्, एउटी चेली छिन् । एउटा छोरा छन्, एउटी छोरी छिन् । एउटा श्रीमान् छन्, एउटी श्रीमती छिन् । कसैको आशा र भरोसा छन् । कसैको आड र अभिभारा छ । एउटा मान्छे छन्, एउटा मुटु र मन छ । उसलाई पनि दुख्छ । उसको पनि दुःख छ ।
प्रहरीको गीत
एक साँझ दानबहादुर कार्की बालुवाटारको कफी हाउसमा थिए । टेबलमा तात्तातो कफी थियो । मनमा सितल बतास चल्यो ।
उनले अघिल्तिरको नेपकिन पेपर टिपे । अनि लेखे, ‘हर गाउँ, हर नगरी…।’
शब्द सरल थियो, तर त्यो मनको तरल प्रवाह थियो । त्यो उनको अनुभूति थियो र अनुभव पनि । त्यो उनको भावना थियो, भोगाइ पनि ।
प्रहरीहरू, जो कठिन क्षणमा खटिन्छन् । धुलोमा होस् वा धुँवामा, बन्दमा होस् वा द्वन्द्वमा । ढुंगामुडा खाने उनीहरू नै हुन्छन्, घाइतेलाई बोकेर अस्पताल पुर्याउने पनि उनीहरू नै । पहिरोले बस्ती बगाएको होस् वा खोलामा गाडी फसेको होस्, उनीहरू नै उद्धारका लागि पुग्नुपर्छ ।
यावत् कुराले उनलाई लाग्यो, प्रहरीको गीत लेख्नुपर्छ । प्रहरीको दुःख बिसाउन र सुख मिसाउने भाका रच्नुपर्छ ।
किनभने प्रहरी सेवाको स्पन्दन छामेका उनले यस पेशाभित्रको सुन्दरता मात्र देखेका छैनन्, कठोरता पनि बुझेका छन् । ती सबैको बाबजुद पनि कसरी उनीहरूको मनोबल उकास्न सकिन्छ ? यही प्रश्नले अस्थिर बनाइरहँदा उनले त्यसलाई अभिव्यक्त गर्ने एउटै माध्याम पाए, गीत ।
……………….
केही सातअघि मात्र युरोपको विख्यात फुटबल क्लब इन्टर मिलानको अफिसियल फेसबुकमा राखिएको थियो । विश्व फुटबलले उत्सव मनाइरहेको एउटा छोटो दृश्य राख्दै पृष्टभूमिमा गीत बजाइएको थियो । त्यो गीत नेपाली थियो । त्यो गीत दानबहादुर कार्कीको थियो ।
फुटबलका नेपाली फ्यानहरूका लागि यो आफैंमा सरप्राइज थियो । उनीहरूले इन्टर मिलानको फेसबुकमा प्रतिक्रिया दिदै खुसी साटेका थिए, ‘नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद ।’
यसपाली गीतकारकै रूपमा भेट्ने मेसो जुराइएको थियो उनीसँग । गीतको सन्दर्भमा दानबहादुर कार्कीसँग कुरा गरिरहँदा यस्तो लाग्यो, उनका गीतहरूले एक सुन्दर पिरामिड बनाएको छ । त्यसको धरातलमा नेपाली माटो छ भने त्यसको शिखरमा नेपाली उत्सव । पिरामिडका अवयवहरूमा दुःख, सुख, वाध्यता, उत्साह, कर्तव्य, करुणा छन् । अनि त्यसलाई जोड्ने रसायन छ, प्रहरी र समाज ।
‘द्वन्द्व पुग्यो, अब सिर्जनाबाट अगाडि बढौं । हातेमालो गरौं । सुखी र सुन्दर समाजको रचना गरौं ।’ उनका गीतहरूको गुदी हुन् यी ।
उनले गीतहरू लेखेका होइनन् भावना पोखेका हुन् । भावना मात्र पोखेका होइनन् समाज र प्रहरीलाई एउटै भाकामा लयबद्ध गरेका हुन् ।
घरपरिवार छाडेर बाह्रैमास ड्युटीमा रहने प्रहरीका लागि उत्साहको डोज थपिदिएका हुन् । समाजको हृदयमा प्रहरीप्रतिको समभाव गुञ्जाइदिएका हुन् ।








प्रतिक्रिया दिनुहोस्