प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने– कानुन देखाएर काम नपन्छाउनू, मन्त्रीहरूलाई नपढाउनू

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारमा सबै सचिवलाई बोलाएर निर्देशन दिएका थिए।

नवनियुक्त प्रधानमन्त्रीले शपथलगत्तै सचिवहरूलाई के निर्देशन दिए भन्नेबारे सर्वसाधारण मात्र होइन, निजामती सेवाकै तल्लो तहका कर्मचारीलाई पनि चासो छ।

हामीले प्रधानमन्त्रीको निर्देशन के हो भन्नेबारे विभिन्न मन्त्रालयका तीन जना सचिवसँग कुरा गरेका छौं।

उनीहरूले नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले मन्त्रीहरूले भने अनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।

सरकारको गति, मर्म र निर्देशन अनुसार काम गर्न नसक्ने हो भने मार्गप्रशस्त गरिदिन पनि उनले भनेका छन्। त्यस्तै, मन्त्रीहरूले काम लगाउँदा नियम-कानुन देखाएर पन्छाउने वा मन्त्रीहरूलाई पढाउने काम नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सचिवहरूसँग प्रधानमन्त्री बालेनको कुराकानी निकै छोटो समय चलेको थियो। उक्त बैठकमा सचिवहरूबाट आफ्नो कुरा राख्ने काम भएन। प्रधानमन्त्रीले एकोहोरो निर्देशन दिएको र त्यो बैठक निकै छोटो समय चलेको हामीले कुरा गरेका सचिवहरूले बताए।

‘प्रधानमन्त्रीसँग भएका मिटिङमध्ये अहिलेसम्मकै छोटो यही हो,’ एक सचिवले भने, ‘उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नुभएन।’

मन्त्रिपरिषदको शुक्रबारको पहिलो बैठकले शासकीय सुधारका १०० बुँदे कार्यसूची सार्वजनिक गरिसकेको छ। उक्त कार्यसूचीमा ७ देखि एक हजार दिनसम्मका काम तोकिएका छन्।

हामीले कुरा गरेका तीन जना सचिवको भनाइ यस्तो छ —

सचिव एक

प्रधानमन्त्रीज्यूले सरकारको ‘स्पिड’ र ‘स्पिरिट’ (गति र मर्म) अनुसार काम गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयो।

उहाँले ‘राम्रोसँग काम गर्नुस्, हाम्रो स्पिरिट मेन्टेन गरेर काम गर्नुस्, यदि स्पिड मेन्टेन गर्न सकिँदैन भने छाडिदिँदा हुन्छ’ भन्नुभयो।

प्रधानमन्त्रीज्यूले ‘सिभिलियन सुप्रिमेसी’ (नागरिक सर्वोच्चता) कायम गर्नुपर्नेमा जोड दिनुभयो। हाम्रो काम जनताको सेवा गर्ने हो, हामीले सिभिलियन सुप्रिमेसी कायम गर्नुपर्छ भनेर उहाँले भन्नुभयो।

सचिव दुई

प्रधानमन्त्रीज्यूले आफूलाई नेपाल हाँसेको हेर्ने इच्छा छ भन्नुभयो। त्यसैले सरकारले भने बमोजिम काम गर्न उहाँले निर्देशन दिनुभयो।

उहाँले ‘म मेरो गीतजस्तै नेपाल हाँसेको हेर्न चाहन्छु, त्यसका लागि तपाईंहरूले सरकारले भने अनुसार डेलिभरी दिनुपर्छ’ भन्नुभयो।

उनले कानुन र नियमहरू देखाएर आफ्नो कामबाट नपन्छिन पनि निर्देशन दिनुभयो। सरकारले भनेको काम गर्ने क्रममा नियम र कानुन देखाउँदै मन्त्रीहरूलाई नपढाउन पनि उहाँले भन्नुभयो।

‘तपाईंहरू नियम-कानुन देखाएर पन्छिने काम नगर्नू, मन्त्रीहरूलाई पढाउने काम पनि नगर्नू। सरकारले भने अनुसार काम गर्नू। तपाईंहरूको काम डेलिभरी दिने हो, मन्त्रीहरूलाई पढाउने होइन। मन्त्रीहरूले आफ्नो काम जान्नुभएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्रीज्यूले ‘मन्त्रीहरूले भने अनुसार काम गर्न नसक्ने हो भने काम छाड्दा हुन्छ’ भन्ने भाव प्रकट गर्नुभएको थियो।

सचिव तीन

प्रधानमन्त्रीज्यूले ‘लोकसेवा पास गरेर आएको भन्दैमा मन्त्रीहरूलाई धेरै पढाउने र नियम-कानुन देखाएर काम पन्छाने वा पर सार्ने नगर्नुस्’ भनेर निर्देशन दिनुभयो।

‘तपाईंहरू लोकसेवा पढेर आउनुभयो होला। तपाईंहरूलाई धेरै कुरा बोल्न आउँछ, लेख्न आउँछ। तर म धेरै कुरा गर्दिनँ। मेरा मन्त्रीहरू सक्षम हुनुहुन्छ। उहाँहरूको निर्देशन अनुसार काम गर्नु होला,’ प्रधानमन्त्रीले भन्नुभयो।

उहाँले नियम-कानुन, विधि-विधान देखाएर मन्त्रीलाई दु:ख नदिन र काममा अवरोध नल्याउन पनि निर्देशन दिनुभयो।

आफ्ना मन्त्रीहरूको भावना बुझेर काम गर्न नसक्ने हो भने मार्गप्रशस्त गर्न पनि उहाँले निर्देशन दिनुभयो।

‘मन्त्रीले कुनै काम लगायो भने त्यो काम किन मिल्दैन भनेर तर्क नगर्नुस्, कसरी मिल्छ भनेर समाधान ल्याउनुस्,’ प्रधानमन्त्रीले भन्नुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार