१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको नेपाल बार एसोसिएसनले टिप्पणी गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सरकारले ओली र लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गराउने अधिकार नै नभएको जिकिर समेत गरे ।
उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको दाबी समेत गरे ।
सरकारले हुँदै नभएको अधिकार प्रयोग गरेर सो आयोगको प्रतिवेदन कार्यान्वयन गराउने निर्णय क्याबिनेटबाट गराउनु गलत भएको अध्यक्ष मिश्रको भनाइ थियो ।
उनले भने, ‘यो क्याबिनेटले गर्ने भनेको पोलिसी डिसिजन, बजेट चलाउने, राज्यको शान्ति सुरक्षा कायम गर्ने भन्ने हो । कुनै जाहेरी परेको अवस्थामा प्रहरीले प्रारम्भिक छानबिन गर्ने अनि सो प्रतिवेदन सरकारी वकिलकोमा लैजाने । अनि सरकार वकिलले मुद्दा चलाउने वा नचलाउने भनेर निर्णय गर्छ । क्याबिनेटले यस्तो मुद्दा चलाउने विषयमा निर्णय गर्ने अधिकार राख्दैन । त्यसैले यो पूर्वाग्रह हो । मानिसलाई सधैं धरापमा राख्ने, जोखिममा राख्ने किसिमले कानुनको प्रयोग गर्न हुँदैन । यो खण्डे प्रतिवेदन भयो । स्वीकार्य छैन ।’
अध्यक्ष मिश्रले सरकारले कुनै पनि आयोगको प्रतिवेदन अदालतको अनुमति विना कार्यान्वयनमा लैजाने कानुन व्यवस्था नभएको पनि स्पष्ट परे ।




प्रतिक्रिया दिनुहोस्