१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै तरुण दलले आपत्ति जनाएको हो ।
शनिबार जारी विज्ञप्तिमा ओली र लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको उल्लेख छ ।
‘एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ,’ अध्यक्ष विद्धान गुरूङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तरुण दलले सरकारलाई एकपक्षीय निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न पनि भनेको छ ।
‘देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राखु सबै पक्षको साझा दायित्व हो भन्ने हामी पुन: स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्