काठमाडौँ । बिहीबार संसदको शपथ ग्रहण समारोह । सिंहदरबार भित्रको नयाँ संसद भवनको मल्टिप्रपोज हलमा अस्थायी रुपमा आज आम निर्वाचन २०८२ बाट निर्वाचित संसदहरुको पद तथा गोपनियताको शपथ ग्रहण तय भएको थियो ।
आ आफ्नो भेष भुषा र लवजमा नवनिर्वाचित सांसदहरु शपथका लागि सुसज्जित देखिन्थे । दिउँसो २ बजेका लागि तय भएको बैठकमा २७४ सदस्य नवनिर्वाचित सांसदहरु उपस्थित भइसकेका थिए ।
घडिमा अपरान्हको २ बजेर ३ मिनेट गइसकेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संसद भवनको शपथ ग्रहण समारोहमाको ढोकामा देखिए । खरानी रङ्गको दौरा र कालो कोट, अस्वस्थताले भित्र छिरेको गाला, चुस्स बढेको दाह्रीमा मलिन अनुहार तर मन्द मुस्कानमा देखिए रवि ।
नमस्कारको अभिवादन गर्दै उनी हल भित्र प्रवेश गरे । रास्वपाका १८१ सांसदहरुले हल भित्रको सिटबाट उठेर आफ्ना सभापतिलाई अविभादन गरे ।
अग्रपंतिमा रहेका नेकपा नेताहरुलाई रविले नमस्कार गरे । बस्ने कता भन्दै मर्यदापालकलाई इशाराले सोधे । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरु बस्ने लहरोको पहिलो सिटमा बस्ने इशारा उनलाई दिइयो ।
रवि बिस्तारै आफ्ना वरिष्ठ नेताहरु बालेन्द्र शाह, डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्ले रहेको लहरोमा गए । वरिष्ठ नेता बालेन्द्र शाहले हात मिलाएर स्वागत गरे ।
आज संसदमा रवि मौन र नम्र देखिन्थे । रविको संसद प्रवेश एउटा सांसदको प्रतिनिधिसभा प्रवेश मात्रै थिएन एउटा आन्दोलन सुरुआतकर्ताको दिग्विजयको दिन थियो ।
सक्रिया राजनीतिमा प्रवेश गरेको ६ महिनामा २१ सांसद लिएर २०७९ मा प्रतिनिधि सभा छिरेका रवि यस बीच राजनीतिक चक्रब्युहमा परेर संसदबाट गलहत्याएर निकालिएका थिए ।
प्रतिशोधपूर्ण राजनीतिको शिकार भएर डेढ वर्षदेखि जेल, नेल र मुद्दाका चाङ बोकिरहेका रवि बिहीबार १८२ को शक्तिसहित संसद छिरे । दुई तिहाई सिटका लागि २ सिट कम, कुल मतको ४८ प्रतिशत लोकप्रिय मत बोकेर उनी संसद छिरे ।
फागुन २१ को निर्वाचन अघि दाङको एक आमसभामा रविले भनेका थिए । दुई तिहाईको दम्भ देखाएर संसदबाट निकाल्यौँ जनताको मनबाट निकालेर देखाओ । साच्चै रवि जनताको मनबाट अनुमोदित भएर संसद छिरे ।




प्रतिक्रिया दिनुहोस्