कैलाली र कञ्चनपुरमा भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। दुई जिल्लामा मानवीय क्षति नभए पनि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्।
जेन्जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले पनि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको उल्लेख गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूलाई घटना विवरण पेश गर्न निर्देशन दिएको थियो।
कञ्चनपुरका तत्कालीन सिडिओ लक्ष्मण ढकालका अनुसार भदौ २३ गते सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीको मृत्यु भएपछि साँझ बजारमा मसाल जुलुस र कोणसभा भएको थियो। भदौ २४ गते विभिन्न समूहहरू उद्योग वाणिज्य संघ, राजनीतिक दलका कार्यालय र सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गर्न पुगेका थिए। कुल ७७ स्थानमा व्यापक क्षति भएको थियो।
सुरक्षाकर्मीहरूले जिल्ला प्रशासन कार्यालयमा सामान्य बल प्रयोग गरे पनि भीड ठूलो भएकाले सम्पूर्ण स्थानमा नियन्त्रण गर्न सकिएन। ढकालले आगामी आन्दोलनका घटनामा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्वमा सुरक्षा परिचालन गर्न कानूनी व्यवस्था आवश्यक रहेको बताए।
कैलालीका तत्कालीन सिडिओ कृष्णप्रसाद लम्सालका अनुसार पनि भदौ २४ गते जेनजी समूहले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा र्याली निकाल्दा विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, निजी निवास र सवारी साधनहरूमा आगजनी र तोडफोड गरेको थियो। सुरक्षाकर्मीहरूले हवाई फायर र ग्याँस सेल्युलर प्रयोग गरी केही नियन्त्रण गर्न सफल भए।
घटनापछि राती १० बजे नेपाली सेनालाई परिचालन गरेर जिल्लामा शान्ति सुरक्षा कायम गरिएको थियो। यसरी सुरक्षा निकायहरूले जिल्लाका संवेदनशील स्थलहरूमा निगरानी, भीड नियन्त्रण र आकस्मिक घटनाप्रति तयारी गर्दै नागरिक र सरकारी सम्पत्तिमा थप क्षति हुनबाट रोक्न सक्रिय भूमिका निभाएको थियो।




प्रतिक्रिया दिनुहोस्