धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको एचआईभी अवस्थाबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरिएको छ। स्वास्थ्य निर्देशनालय, डोटीको आयोजनामा र एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा सम्पन्न मिडिया अन्तरक्रियामा प्रदेशभर हाल ३ हजार ८१२ जना एचआईभी संक्रमित एआरटी उपचारमा रहेको जानकारी दिइएको हो।
तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित कैलाली जिल्लामा रहेका छन्, जहाँ १ हजार ८०२ जना उपचारमा छन्। त्यसपछि अछाम (५६६), डोटी (४९१), कञ्चनपुर (४७३), डडेल्धुरा (१२३), बैतडी (१०३), बझाङ (९७), बाजुरा (७२) र दार्चुला (५१) मा संक्रमितहरू एआरटी सेवामा आबद्ध छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा नयाँ संक्रमणको दर घट्दो क्रममा छ। साथै, करिब ९४ प्रतिशत संक्रमित स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्, जसले उपचारमा पहुँच सहज बनाएको छ।
कार्यक्रममा एचआईभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा र चुनौतीबारे जानकारी दिँदै जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो। विशेषज्ञहरूले प्रारम्भिक परीक्षण, नियमित उपचार तथा क्षयरोगसँगको सह–संक्रमण नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
सुदूरपश्चिम प्रदेशलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिइँदै आएको छ, विशेषगरी भारततर्फ हुने वैदेशिक रोजगारीका कारण संक्रमणको सम्भावना बढ्ने गरेको बताइएको छ। जोखिम समूहमा भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता, समलिंगी पुरुष तथा तेस्रो लिंगी समुदाय रहेका छन्।
प्रदेशभर हाल १९ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र र ३ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा छन्। क्षयरोग र एचआईभीको एकीकृत सेवा समेत उपलब्ध रहेको जनाइएको छ।
एएचएफले नेपालमा एचआईभी रोकथाम, परीक्षण, उपचार र हेरचाहमा निरन्तर सहयोग गर्दै आएको छ। देशभर १९ वटा एआरटी केन्द्र र दुई सीमा नाकामा सहकार्य गर्दै आएको संस्थाले सुदूरपश्चिममा चार एआरटी केन्द्रमार्फत प्रत्यक्ष सेवा सहयोग गरिरहेको छ।
कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले एचआईभीसम्बन्धी जनचेतना, उपचारमा पहुँच र सामाजिक भेदभाव न्यूनीकरणका विषयमा चासो राखेका थिए। वक्ताहरूले सही सूचना प्रवाह र सचेतना विस्तारमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्