कञ्चनपुरको महेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल लामो समयदेखि अलपत्र अवस्थामा पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुरु गरिएको यो परियोजनाको काम पछिल्ला आठ महिनादेखि रोकिएको हो।
विसं २०८० असारदेखि निर्माण थालिएको कभर्डहलको करिब ७० प्रतिशत काम पूरा भइसकेको छ। तर प्यारापिट निर्माणसम्बन्धी विवादका कारण काम अघि बढ्न सकेको छैन। निर्माण कम्पनी बैजनाथ–कन्टुर जेभीका सञ्चालक सुनिल कुवँरका अनुसार भेरिएसन अर्डर (भिओ) स्वीकृत नहुँदा निर्माण प्रक्रिया रोकिएको हो। उनका अनुसार भिओका लागि आठ महिनाअघि नै प्रक्रिया सुरु गरिए पनि प्रदेश सरकारबाट निर्णय हुन सकेको छैन।
तेह्र करोडभन्दा बढी लागतमा निर्माण भइरहेको उक्त कभर्डहल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। ३० महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि सरकारी प्रक्रियागत ढिलाइले समयमै काम अघि बढ्न नसकेको निर्माण पक्षको भनाइ छ।
यता, सामाजिक विकास कार्यालय धनगढीका इन्जिनियर रमेश ऐरीले प्यारापिट निर्माणको विषय छिट्टै टुङ्गो लाग्ने दाबी गरेका छन्। उनका अनुसार इँटाको स्टेप बनाएर प्यारापिट निर्माण गरिने योजना रहेको छ र सचिवस्तरबाट निर्णय भएलगत्तै काम पुनः सुरु हुनेछ। कभर्डहल निर्माण सम्पन्न भएपछि विभिन्न खेलकुद गतिविधि सञ्चालन र प्रशिक्षणमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै टीकापुरमा स्पोर्टस एकेडेमी पनि निर्माण गरेको छ। तर, निर्माण सम्पन्न भइसकेको उक्त एकेडेमी अझै सञ्चालनमा आउन सकेको छैन। करिब दश करोड लागतमा बनेको एकेडेमी सञ्चालनसम्बन्धी कार्यविधि तयार नहुँदा हस्तान्तरण प्रक्रिया ढिलिएको हो।
मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत धनराज धामीका अनुसार एकेडेमी सञ्चालनको मोडालिटीबारे छलफल जारी छ। सञ्चालन प्रदेश सरकारले आफैँ गर्ने वा स्थानीय तहलाई जिम्मा दिने भन्ने विषयमा टुङ्गो लागेपछि मात्र एकेडेमी हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ।




प्रतिक्रिया दिनुहोस्