काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूमध्ये २४ जनाले आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको शपथ ग्रहण समारोहमा उनीहरूले विभिन्न ११ वटा मातृभाषामा शपथ लिने जानकारी सङ्घीय संसद् सचिवालयलाई दिएका हुन् ।
सङ्घीय संसद् सचिवालयले मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूलाई कम्तीमा ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो । सोही सूचनाअनुसार २४ जना सांसदले आफूले प्रयोग गर्ने भाषा स्पष्ट पार्दै सचिवालयमा विवरण बुझाएका छन् ।
सचिवालयका अनुसार सबैभन्दा बढी मैथिली भाषामा ६ जना तथा नेपाल भाषा (नेवारी) मा पनि ६ जना सांसदले शपथ लिनेछन् । त्यस्तै डोटेली भाषामा ३ जना, थारु भाषामा २ जना सांसदले शपथ लिनेछन् भने तामाङ, भोजपुरी, राना थारु, संस्कृत, मगही, अवधि र वान्तावा भाषामा १–१ जना सांसदले शपथ लिने तयारी गरेका छन् ।
चैत ११ गते राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण सम्पन्न भइसकेपछि चैत १२ गते संसद् भवनमा अन्य सदस्यहरूको सामूहिक शपथ कार्यक्रम राखिएको छ । सोही कार्यक्रममा मातृभाषामा शपथ लिन चाहने २४ जना सांसदले आफूले रोजेको भाषामा शपथको व्यहोरा वाचन गर्नेछन् ।
संविधानले सांसदलाई नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन सक्ने व्यवस्था गरेको छ, जसअनुसार पछिल्ला वर्षहरूमा विभिन्न भाषामा शपथ लिने प्रचलन बढ्दै गएको छ ।




प्रतिक्रिया दिनुहोस्