डोल्पा — हिमाली जिल्ला डोल्पामा निर्वाचनका बेला प्रयोग भएको श्री एयरको ‘९एन–एडीडी’ कल साइन भएको हेलिकोप्टर जुफाल विमानस्थलमै ग्राउन्डेड भएको छ।
हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको हो ।
२१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा उपल्लो डोल्पामा कर्मचारी,सुरक्षाकर्मी तथा मतपेटिका ओसारपसार गर्न डोल्पा पुगेको उक्त हेलिकोप्टर उडानयोग्य नभएपछि विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुफालले जनाएको छ ।
कार्यालय प्रमुख राहुल मिश्रका अनुसार प्राविधिक गडबडी देखिएपछि २४ फागुनदेखि हेलिकोप्टर जुफालमै रोकिएको छ । निर्वाचनका बेला उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी ढुवानीका लागि श्री एयरका दुई वटा हेलिकोप्टर प्रयोग गरिएको थियो।
तीमध्ये एउटा हेलिकप्टर त्यतिबेला नै फर्किसकेको थियो भने एउटा हेलिकोप्टर जुफालमै थन्किएको हो । मर्मतकालागि प्राविधिक टोली केही दिनमा आउने बताइएको छ।




प्रतिक्रिया दिनुहोस्