काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। निर्वाचनका क्रममा प्राप्त भएको सहयोग र भएको खर्चको पारदर्शिता कायम गर्दै ढकालले सामाजिक सञ्जालमार्फत पूर्ण विवरण बाहिर ल्याएका हुन्।
ढकालले सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा जम्मा २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो। चुनावी प्रचारप्रसार र विभिन्न अभियानका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्।
चुनावी खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको ढकालले जानकारी दिएका छन्। चुनावी अभियानमा संकलन भई खर्च गरेर बाँकी रहेको उक्त बचत रकमलाई ढकालले व्यक्तिगत प्रयोजनमा नलगाई गुल्मीको विकास र देशको उन्नतिका लागि प्रयोग गर्ने घोषणा गरेका छन्।
उनले यो रकम विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा खर्च गरिने स्पष्ट पारेका छन्। मतदाताको अमूल्य मत र आर्थिक सहयोगको उच्च कदर गर्दै उनले आफूलाई सधैँ जनताको सेवकका रूपमा उभ्याउने प्रतिवद्धता समेत दोहोर्याएका छन्।





प्रतिक्रिया दिनुहोस्