मन्त्री छान्न रोष्टर बनाउँदै रवि-बालेन

प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए।

संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्।

सांसदहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दलको बैठक राखेर बालेन शाहलाई नेता चयन गर्ने छ।

‘सांसदहरूको शपथ ग्रहणलगत्तै दलको बैठक बसेर नेता चयन गर्ने कि चैत १३ गते दल बोलाउने भन्ने छलफल भइरहेको छ,’ ती नेताले भने।

पार्टी प्रवक्ता मनिष झाले पनि दलको बैठक बोलाउनेबारे सचिवालयमा छलफल भइनसकेको बताए। ‘दलको बैठकबारे कुनै सूचना आएको छैन, अहिलेसम्म सांसदहरूको शपथको मात्रै सूचना छ,’ उनले भने।

रास्वपा एक्लैले दुई तिहाइ नजिक (१८२ सिट) प्राप्त गरेकाले संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुन्छ।

संविधानको उक्त उपधारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रबन्ध छ।

त्यसैले रास्वपाले संसदीय दलको नेता बनाउने बित्तिकै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्न सक्छन्। रास्वपाले चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्लेसहित नेताहरूको बुधबार भएको छलफलमा १३ गते प्रधानमन्त्रीको शपथ लिने टुंगो लागेको थियो।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले मन्त्रिपरिषदको मौजुदा आकार घट्ने जानकारी दिए। रास्वपाले चुनावी वाचा पत्रमै मन्त्रालयको संख्या किटान गरेको छ। मौजुदा संविधानले संघीय मन्त्रिपरिषद्को आकार २५ मा सीमित गरेको छ। रास्वपाले चुनावी वाचा पत्रमा रूपान्तरणका १०० आधार प्रस्तुत गर्दै संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्ने उद्घोष गरेको छ।

‘संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्नेछौं। प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक निकाय मात्र नभई अन्तर–मन्त्रालय समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्ने नतिजा केन्द्र का रूपमा रूपान्तरण गर्नेछौं,’ रास्वपाले वाचा पत्रमा भनेको छ। तदनुरूप नै छलफल भइरहेको महामन्त्री बुर्लाकोटीले बताए।

‘हामीले वाचा पत्रमै मन्त्रालयको संख्या घटाउने भनेका थियौं। त्यहीअनुसार कम्तीमा १५ र बढीमा १८ वटा मन्त्रालय बनाउने गरी छलफल भइरहेको छ। मन्त्रीहरूको नाममा भने हामी प्रवेश गरिसकेका छैनौं,’ बुर्लाकोटीले भने।

गृहमा डोलप्रसाद अर्याल (डिपी) कि सुनिल लम्साल?

राष्ट्रिय स्वतन्त्र पार्टीका एक पदाधिकारी तहका नेताहरूले जानकारी गराएअनुसार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मन्त्री छनोट गर्न सूची (रोष्टर) बनाइरहेका छन्। सकेसम्म विषयविज्ञ, सेवा प्रवाहमा ध्यान दिन सक्ने, कमान्डिङ क्षमता भएकोलाई मन्त्री बनाउने गरी उनले सूची तयार पारिरहेका हुन्।

‘मन्त्रीहरूको सूची तयार पारेर उनीहरूको (ब्याकग्राउण्ड) पृष्ठभूमि केलाउने काम भइरहेको छ। सांसदहरूले कसैले पनि दबाब दिनुपर्दैन, नेतृत्व आफैले सांसदहरूको क्षमता मूल्यांकन गरेर सुहाउँदो र छरितो समूह निर्माण गर्ने छ भनेर सांसदहरूलाई भनिएको छ,’ एक नेताले भने।

ती नेताका अनुसार गृह मन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) र सुनिल लम्सालको नाम चर्चामा छ। सभापति लामिछानेले अर्याललाई बनाउन चाहेका छन् भने बालेनका तर्फबाट लम्सालको नाम प्रस्तावित छ। 

लम्साल अहिले पार्टीका महामन्त्री छन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा नै लम्साल उनको सचिवालयमा थिए। उनी महानगरका पूर्वाधारविज्ञका रूपमा थिए। रूपन्देही–१ बाट निर्वाचित लम्साल बालेनका विश्वासपात्र मध्येका एक हुन्।

त्यसो त उपसभापति अर्याललाई सभामुखसमेत प्रस्ताव गरिएको नेताहरू बताउँछन्। तर अर्यालले सभामुखभन्दा गृह मन्त्रालयमै रूचि देखाएको नेताहरूको दाबी छ। 

यसमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन निष्कर्षमा पुगिसकेका छैनन्। अर्याल गृहमन्त्री बन्ने भए लम्सालको भागमा अर्को मन्त्रालय पर्न सक्छ। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गाभ्ने पनि चर्चा चलेको छ। यी दुई मन्त्रालय गाभेर लम्साललाई नेतृत्व दिने सम्भावना पनि रहेको रास्वपाका नेताहरू बताउँछन्।

सभामुख कसलाई बनाउने भनेर रास्वपाभित्र पात्रको खोजी भइरहेको पनि नेताहरू बताउँछन्। सभामुखका युवा अनुहारको खोजी भइरहेको पनि नेताहरूको दाबी छ।

पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ। उनको नाममा पार्टीभित्र सर्वसम्मतिजस्तै रहेको पनि नेता बताउँछन्। 

प्रवक्ता मनिष झा पनि मन्त्रीको सूचीमा छन्। झाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इच्छा राखिरहेका छन्।

चितवन–३ बाट निर्वाचित सोबिता गौतमलाई कानुन मन्त्री बनाउने तयारी भइरहेको ती नेताले बताए। पार्टीभित्रका कतिपयले गौतमलाई सभामुख बनाउन पनि आग्रह गरेका छन्। तर पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सभामुखमा दाबी गरिरहेको ती नेताले बताए।

प्रत्यक्षतर्फ दोहोर्‍याएर जितेका काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ, ललितपुरबाट निर्वाचित डा. तोसिमा कार्की लगायतले पनि मन्त्रीमा आकांक्षा राखेका छन्। 

काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल, काठमाडौं–३ बाट निर्वाचित राजुनाथ पाण्डे, सुम्निमा उदासको नाम पनि मन्त्रीको चर्चामा छ। 

मुख्य सचेतक बुर्लाकोटी र सचेतकमा डाँगीको चर्चा

रास्वपाका नेताहरूले जानकारी दिएअनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने चर्चा छ। बुर्लाकोटी गोरखा–२ बाट निर्वाचित भएका हुन्।

त्यस्तै सचेतकमा झापा–१ बाट निर्वाचित सांसद निशा डाँगीको चर्चा छ। डाँगी यसअघिको प्रतिनिधि सभामा सचेतककै भूमिकामा थिइन्।

‘महामन्त्री बुर्लाकोटीलाई मुख्य सचेतक र निशालाई सचेतक बनाउने गरी पार्टीभित्र छलफल अघि बढेको छ,’ रास्वपाका ती नेताले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार