गोलीको घाउबाट संसदसम्म: मुकेशको पीडा, आकृतिको आवाज

भक्तराज जोशी

धनगढी – डडेल्धुराको अमरगढी नगरपालिका-५ सेलागाउँका २२ वर्षीय मुकेश अवस्थीको सपना विदेश अध्ययनपछि देशमै केही गर्ने थियो। इन्जिनियरिङ अध्ययन पूरा गरेका उनी थप पढाइका लागि अस्ट्रेलिया जाने तयारीमा थिए। यही तयारीका क्रममा उनी संघीय राजधानी काठमाडौं पुगेका थिए।

तर, उनको जीवनले अनपेक्षित मोड लियो २३ भदौमा आयोजित ‘जेन-जी आन्दोलन’ले। सुशासन कायम गर्न र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै भएको उक्त आन्दोलनमा सहभागी भएका मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते भए। नयाँबानेश्वर क्षेत्रमा लागेको गोली उनको देब्रे फिलामा पसेर विस्फोट हुँदा उनले बाँया खुट्टा नै गुमाउनुपर्‍यो।

यही घटनाले अब अर्को कथा जन्माएको छ । उनको परिवारबाटै राजनीति प्रवेशको।

मुकेशकी दिदी आकृति अवस्थी, जो यसअघि सक्रिय राजनीतिमा देखिएकी थिइनन्, अहिले २७ वर्षको उमेरमै प्रतिनिधिसभा सदस्य बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीअन्तर्गत खस आर्य समूहको नवौं नम्बरमा राख्दै उनलाई सांसद बनाएको हो। निर्वाचन आयोगले उनलाई सांसदको प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।

आकृतिका लागि यो उपलब्धि अप्रत्याशित थियो। पार्टीले बन्द सूचीमा नाम राख्दा पनि आफू सांसद बन्छु भन्ने विश्वास नभएको उनी बताउँछिन्। त्यसैले उनले आफ्नो पेशागत काम पनि निरन्तर जारी राखेकी थिइन्। उनी ‘निड्स नेपाल’ नामक गैरसरकारी संस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको क्षेत्रमा कार्यरत थिइन्।

२१ फागुनको निर्वाचनमा मतदाता रास्वपातिर आकर्षित भएपछि आकृतिको संसदीय यात्रा सुरु भएको हो।

सांसद बनेसँगै उनले ‘जेन–जी आन्दोलन’का मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन्।
“सुशासन र भ्रष्टाचार अन्त्यका लागि उठेको आवाजलाई म संसदसम्म पुर्‍याउँछु,” उनले भनिन्, “जेन–जी समूहको अभिभावक बनेर काम गर्ने योजना छ।”

यससँगै उनले डडेल्धुराको विकास र देशको समग्र आर्थिक सुधारमा पनि भूमिका खेल्ने बताएकी छन्।
“देशलाई अहिले शान्तिपूर्ण वातावरण र काम गर्ने माहोल चाहिएको छ। अर्थतन्त्र उकास्न आवश्यक छ,” उनले भनिन्, “त्यसका लागि आवश्यक ऐन–कानुन निर्माणमा सक्रिय भूमिका खेल्नेछु।”

मुकेशको पीडादायी घटनाले सुरु गरेको संघर्ष अब संसदसम्म पुगेको छ । जहाँबाट आकृतिले परिवर्तनको आवाज उठाउने तयारी गरेकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार