सुदूरपश्चिमबाट बालेन सरकारमा को को बन्दैछन् मन्त्री ?

धनगढी : सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा १० सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। सुदूरपश्चिममा मात्र होइन, देशकै पहिलो ठूलो दल बनेको रास्वपाले वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार बनाउने सहमति यसअगाडि नै भैसकेको हो।

यसबीच सुदूरपश्चिमको कैलालीका पाँच, कञ्चनपुरका तीन तथा डडेल्धुरा र बैतडीमा एक–एक सिट जित्दै रास्वपाले प्रभावशाली उपस्थिति जनाएको थियो। जसबाहेक समानुपातिक प्रणालीमार्फत समेत सुदूरपश्चिमबाट थप ६ जना सांसद निर्वाचित भएका छन्।

प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत नजिक पुगेको रास्वपा सरकार गठनको तयारीमा जुटेको छ। पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको अवस्थामा अब उनको मन्त्रिमण्डलमा सुदूरपश्चिमबाट को–को समेटिने भन्ने विषयले चर्चा पाएको छ।

पार्टी सभापति रवि लामिछाने कञ्चनपुर–२ बाट निर्वाचित दीपक बोहोरालाई सञ्चारमन्त्री बनाउन चाहेको चर्चा छ। लामो समयदेखि लामिछानेसँगै सञ्चार क्षेत्रमा काम गरेका बोहोरा उनको ‘निकट सहयोगी’का रूपमा चिनिन्छन्। तर मन्त्रालयको टुंगो नलाग्दा सहमति बन्न बाँकी रहेको बताइन्छ। बोहोराको विकल्पका रूपमा धनुषा–३ का मनिष झालाई अघि सार्ने सम्भावनासमेत चर्चा गरिएको छ।

परराष्ट्र मन्त्रालयका लागि डडेल्धुराबाट निर्वाचित डा. ताराप्रसाद जोशीको नाम चर्चामा छ। अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका जोशीले परम्परागत शक्ति रहेको क्षेत्रमा जित निकाल्दै ध्यान तानेका थिए। यसै मन्त्रालयका लागि काठमाडौं–६ का शिशिर खनाल र कमल सुवेदीको नाम पनि चर्चामा छ।

लामिछाने भने खनाललाई परराष्ट्रमन्त्री बनाउन इच्छुक रहेको स्रोत बताउँछ। यस्तै कैलाली–५ का आनन्दबहादुर चन्दलाई शिक्षा र बैतडीका हरिमोहन भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

भण्डारीले आफूलाई मन्त्री बनाउनुपर्ने भन्दै सार्वजनिक रूपमा धारणा राख्न थालेका छन्। यद्यपि, सुदूरपश्चिमबाट बढीमा दुई मन्त्रालय मात्रै पाउने सम्भावना रहेको रास्वपा स्रोतको दाबी छ।

यसैबीच, लामिछानेले मन्त्री छनोटमा विज्ञता र क्षमतालाई आधार बनाइने स्पष्ट पार्दै मिडिया ‘ट्रायल’ नगर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार