पुलिस र आर्मीको फाइनल रोमाञ्चक मोडमा

काठमाडौँ — नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको जय ट्रफी मेन्स इलिट कप फाइनल रोमाञ्चक मोडमा अघि बढेको छ । आर्मीले बुधबार दोस्रो दिनको खेल समाप्तिमा ५२ ओभर खेल्दै ९ विकेट गुमाई १ सय ७८ रन बनाएको छ । 

दुवै टोलीले पहिलो इनिङ्समा समान २ सय २१ रन बनाएकाले तेस्रो दिनको खेल प्रतिस्पर्धात्मक हुने सम्भावना बढेको हो । शाहब आलम र आकाश चन्दले नवौं विकेटमा जोडेको ४७ रन आर्मीका लागि निकै महत्त्वपूर्ण बन्न सक्छ । यही कारण आर्मी मूलपानीको माथिल्लो क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन पुलिसलाई चुनौतीपूर्ण स्कोर दिन अग्रसर भएको छ ।

शाहब ३३ रनमा आउट भए । ३१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका उनलाई करण केसीले आउट गरे । आकाश ३६ बल खेल्दै १ चौकासहित १५ रन बनाएर खेलिरहेका छन् । देब्रेहातमा चोट बोक्नुका बावजुत ब्याटिङमा आएका सोमपाल कामी ७ बल खेलेर कुनै रन नबनाई आकाशलाई साथ दिइरहेका छन् । 

करणले ओपनरद्वय तृतराज दास र इमरान शेखलाई कट एन्ड बोल्ड गरेर आउट गरे । इमरानले २८ बलमा १६ र तृतले ३७ बलमा २० रन बनाए । भीम सार्की र कुशल मल्लले आर्मीको स्कोरलाई १ सय रनमा पुर्‍याए । तर टोलीले २५ रन अन्तरमा ६ विकेट गुमाएपछि टोली १३०–८ को स्थितिमा पुगेको थियो । 

भीमले ५२ बल खेल्दै ६ चौकासहित ३२ र कुशलले ५८ बल खेल्दै २ चौका र १ छक्कासहित ३६ रन बनाए । तर त्यसपछि कप्तान विनोद भण्डारी १२, बसिर अहमद शून्य, नरेन साउद २, पवन कार्की शून्यमा आउट भए । त्यसपछि शाहब र आकाशले आर्मीको उद्दार गरेका थिए । पुलिसबाट करण केसी, ललित राजवंशी र सागर ढकालले ३–३ विकेट लिए । 

दिनको खेल पूर्णतः करणको नाममा रह्यो । करणले ललितसँग नवौं विकेटमा ६२ रनको साझेदारी गरेपछि पुलिसले आर्मीसँग पहिलो इनिङ्समा स्कोर बराबरी गरेको थियो । करणले अविजित ७२ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन पुलिस ६१.४ ओभर खेल्दै २ सय २१ रनमा अलआउट भयो । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा उक्त रन बनाएको थियो । 

करणले सागरसँग दसौं विकेटमा २४ रनको साझेदारी गरे । आकाशले अन्तिम ब्याटर सागरलाई शून्यमा आउट गरी पुलिसको इनिङ्सलाई टुंग्याए । करणले १ सय ९ बल खेल्दा ७ चौका र २ छक्का प्रहार गरे । आर्मीले ६० ओभरमा नयाँ बल लिएपछि करणले पहिलो बलमै सोमपाललाई छक्का प्रहार गरेका थिए । सोमपालले ५ विकेट लिए । उनले १७ ओभरमा ३ मेडन राख्दै ७२ रन खर्चे । आकाशले २ तथा शाहब, पवन र नरेनले १–१ विकेट लिए । 

यसअघि पुलिसले ४१–३ बाट दिनको खेल सुरु गरेको थियो । अविजित ब्याटर दिनेश खरेल व्यक्तिगत ६ रन जोड्दै १७ रनमा आउट भए । उनले ५६ बल खेलेर २ चौका प्रहार गरे । रशिद खानले १५ रन बनाए । उनले ४४ बल खेल्दा २ चौका प्रहार गरे । दुवैलाई सोमपालले आउट गरे । 

कप्तान आरिफ शेख र शंकर रानाले छैटौं विकेटमा ३३ रनको साझेदारी गरेका हुन् । शंकरले २२ बलमा ३ चौकासहित १५ रन बनाए । गुलशन झाले १० बल खेल्दै ४ रनमात्र जोड्न सके । आरिफ ४४ रनमा आउट भए । नरेनको बलमा विकेटकिपर विनोदबाट क्याच हुनुपूर्व उनले ७० बलमा ६ चौका प्रहार गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार