काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट सफल बनाउन सहयोगी भूमिका खेलेकोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई विशेष धन्यवाद दिएकी छन्। प्रधानमन्त्रीको निमन्त्रणामा नेकपाका शीर्ष नेताहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटघाटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको सहभागिता थियो। उनीहरूबीच निर्वाचनपछिको समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।छलफलका क्रममा प्रधानमन्त्रीले निर्वाचनको पक्षमा वातावरण बनाएकोमा खुसी व्यक्त गर्दै भनिन्, “तपाईँहरूले निर्वाचनमा भाग लिएर मुलुकलाई संवैधानिक निकास दिन जुन भूमिका खेल्नुभयो, त्यसका निम्ति धेरै धन्यवाद छ।” उनले निर्वाचित नेताहरूलाई बधाई दिँदै पराजित भएकाहरूलाई आगामी दिनका लागि शुभकामना समेत दिएकी छन्।
नेकपाका नेताहरूले कठिन परिस्थितिमा पनि ६ महिनाभित्रै निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीको दृढता र इमानको प्रशंसा गरे। संयोजक प्रचण्डले भने, “यो निर्वाचन नभएको भए मुलुक ठुलो दुर्घटनामा जान्थ्यो। तपाईँको साहस र मेहनत प्रशंसालायक छ।” उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको स्मरण समेत गराए।
त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको आगमनले खलबलिएको अवस्था सम्हालिने विश्वास जागेको बताए। उनले भने, “तपाईँ आइदिएपछि संविधान बाँच्छ र व्यवस्था जोगिन्छ भन्ने हाम्रो विश्वास थियो, जुन आज सफल भएको छ।”
अस्तव्यस्त राजनीतिक अवस्थालाई छोटो समयमै चुनावी प्रक्रियामा लगेर सफल अवतरण गराएकोमा नेताहरूले सरकारको सफल कार्यकालको रूपमा यसलाई चित्रण गरेका छन्।




प्रतिक्रिया दिनुहोस्