सांसदको शपथ लिनुअघि नै बालेन प्रधानमन्त्री नियुक्त हुने

काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन सांसदको शपथ लिनुअघि नै प्रधानमन्त्री बन्ने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष बुझाएलगत्तै बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै सोही दिन आयोगको टोली शीतल निवास जाने निश्चित भएको हो।

प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि दललाई आह्वान गर्नुपर्छ। आयोगको प्रतिवेदनमा सबैभन्दा ठूलो दलको रूपमा देखिएको रास्वपाले सरकार गठनका लागि पहिलो अवसर प्राप्त गर्नेछ। राष्ट्रपतिले ७६ (१) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन्। रास्वपाले बालेनलाई संसदीय दलको नेता चयन गरेलगत्तै उनी प्रधानमन्त्री बन्नेछन् ।

रास्वपा एक्लैले बहुमत ल्याएका कारण यसअघिको जस्तो राष्ट्रपतिले निश्चित समयावधि तोकेर सरकार गठनका लागि आह्वान गरिरहनुपर्ने अवस्था छैन । सांसदको शपथअघि कि प्रधानमन्त्रीको ? भन्ने बहस चलिरहँदा रास्वपाले यस विषयमा निर्वाचन आयोग, संसद् सचिवालय तथा संविधानविद्हरूसँग औपचारिक÷अनौपचारिक राय सल्लाह लिइसकेको छ ।

संसदीय गतिविधिमा भाग लिन सांसदको शपथ अनिवार्य भएकाले सरकार गठनका लागि सांसदको शपथ अनिवार्य नभएको सुझाव रास्वपाले पाएको छ । जसअनुसार सांसदहरूको शपथअघि नै प्रधानमन्त्री नियुक्तिदेखि मन्त्रिपरिषद् गठन भइसक्ने रास्वपा नेताहरूको दाबी छ ।

‘सांसदको शपथमा ढिलाइ भइहाल्यो भने सरकार सञ्चालन सहज हुने गरी प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठन प्रक्रिया अघि बढ्छ,’ रास्वपा सांसद शिशिर खनाल भन्छन्, ‘सांसदभन्दा अघि नै प्रधानमन्त्रीको शपथ लिँदा कुनै कानुनी समस्या नहुने देखिन्छ ।’

समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना सांसदको नाम निर्वाचन आयोगले सार्वजनिक गरेसँगै प्रतिनिधिसभाका २७५ सांसदकै टुंगो लागेको छ । यससँगै अब निर्वाचन आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नेछ भने त्यसपछि सरकार गठनको बाटो पनि खुल्नेछ । यो साताको अन्त्यसम्म वा चैत १० गतेभित्र बालेन प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ ।

रास्वपाले अहिलेसम्म संसदीय दलको नेता चयनका लागि कुनै मिति तय गरेको छैन । तर, चैत ५ वा ६ गते दलको नेता चयन गर्ने गरी आन्तरिक तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार