काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको नतिजा हासिल गरेसँगै निजी क्षेत्र उत्साहित बनेको छ ।
नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र स्थिर सरकारसँगै मुलुकको आर्थिक वृद्धि तीव्र रुपमा अगाडि बढ्ने अपेक्षा निजी क्षेत्रको छ ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा होमिएको शिवप्रसाद घिमिरे समूहले मंगलबार एभरेष्ट होटलमा नयाँ सरकारले लिनुपर्ने आर्थिक नीतिका सम्बन्धमा बृहत छलफलको आयोजना गरेको छ ।
‘परिवर्तित जनादेशको परिप्रेक्ष्यमा अर्थतन्त्रको दिशा निर्देश, निजी क्षेत्रको भूमिका तथा अपेक्षा’ विषयक कार्यक्रममा उद्योगी व्यवसायी र अर्थशास्त्रीहरु सहभागी हुनेछन्।
महासंघको आगामी निर्वाचनमा घिमिरेले रामचन्द्र संघाई समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पेट्रोलियम व्यवसायमा स्थापित घिमिरेको ग्यास उद्योगमा पनि व्यापक लगानी रहेको छ ।
एभरेष्ट, सुगम, प्रिज्मा लगायत आधा दर्जनभन्दा बढी ग्यास उद्योग र दर्जनौँ पेट्रोल पम्पमा उनको संलग्नता रहेको छ । पछिल्लो समय घिमिरेले जलविद्युत, अटोमोबाइल, कत्था उद्योग र चियाबगानमा समेत लगानी विस्तार गरिरहेका छन् ।
डिजेल र मट्टीतेलको मूल्य समायोजनमा पनि उल्लेख्य रुपमा सक्रिय हुँदै आएका घिमिरेले २०७२ सालको नाकाबन्दीका बेला इन्धन अभाव व्यवस्थापनमा सरकारसँग समन्वय गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्यानल बनाएर चुनावी मैदानमा होमिएको घिमिरे प्यानलमा पूर्ववरिष्ठ उपाध्यक्ष रामचन्द्र संघाई वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे त्यस्तै, एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डेको नाम अगाडि सारिएको छ भने जिल्ला नगर उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा प्रतिस्पर्धामा छन्।
‘परिवर्तित जनादेशको परिप्रेक्ष्यमा अर्थतन्त्रको दिशानिर्देश र निजी क्षेत्रको भूमिका’ कार्यक्रममा उद्योगी, व्यवसायी तथा अर्थशास्त्रीहरूको सहभागिता रहनेछ । उक्त कार्यक्रममा विश्व गौचनले ‘मध्यपूर्वको तनाव, नयाँ सरकार र भावी अर्थनीति’ बारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
महासंघको यसपटकको निर्वाचनमा ‘सुदृढ अर्थतन्त्र’ र ‘निर्यातमुखी नीति’ मुख्य एजेन्डाका रूपमा अघि सारिएका छन् । वर्तमान कार्यसमिति पश्चात् अञ्जन श्रेष्ठ पछि आउने नेतृत्वले नयाँ सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले करिब दुई–तिहाइ नजिकको जिते निकालेपछि निराश उद्योगी–व्यवसायीहरूमा पुनः आशा जागेको देखिन्छ । तर, भन्सार विभागको पछिल्लो तथ्याङ्कले भने अर्थतन्त्रको चुनौती अझै गम्भीर रहेको देखाउँछ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, जसले उच्च परनिर्भरता अझै कायम रहेको संकेत गर्छ ।
यद्यपि, रास्वपाको घोषणापत्रमा उल्लेखित सुशासन र आर्थिक सुधारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ । महासंघको आसन्न निर्वाचनले निजी क्षेत्रको नेतृत्व मात्र होइन, समग्र अर्थतन्त्रको दिशा निर्धारणमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी चैत २८ र २९ गते काठमाडौंमा तय भएको छ।




प्रतिक्रिया दिनुहोस्