धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले फागुन महिनाभरि सञ्चालन गरेको गतिविधिअनुसार लागूऔषधसहित ५० जनालाई पक्राउ गरेको छ। सोमबार सार्वजनिक गरिएको मासिक प्रतिवेदन अनुसार पक्राउ पर्नेमा ४८ पुरुष र २ महिला रहेका छन्।
३३ वटा लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरूको साथबाट १२ ग्राम ८५० मिलिग्राम गाँजा, २ केजी ६० ग्राम चरेस र ६३ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
यसैगरी,७४७ लिटर मदीरा र ३६० लिटर कच्चा पदार्थ पनि नियन्त्रणमा लिइएकाे छ।
यस अवधिमा कुल १४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने जघन्य तथा गम्भीर प्रकृतिका ३५ मुद्दा रहेका छन्। साथै, १५ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ।
घरेलु हिंसासम्बन्धी ३४ उजुरीमध्ये २९ वटा मिलापत्र भएका छन्। हराएका ५० महिला तथा बालबालिकामध्ये ४३ जना फेला परेका छन् भने १८१ ठाडो उजुरी सबै फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ
यसैबीच, फागुन महिनामा २४ जनाले आत्महत्या गरेको विवरणमा उल्लेख छ, जसमा ८ पुरुष, ९ महिला र ७ बालिका रहेका छन्। प्रहरीले एक महिनामा ११४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि जनाएको छ।
यस्तै, सोही अवधिमा ५५ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ट्राफिक कारबाहीतर्फ १,१४६ सवारी साधनलाई कारबाही गरी १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
प्रहरीले ६३ लाख ९६ हजार १५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको र यस सम्बन्धमा ४ जनालाई पक्राउ गरिएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्