सुदूरपश्चिमका सहरी क्षेत्रमा बदर मत बढी, तराईका जिल्ला अगाडि

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सहरी क्षेत्रमा बदर मतको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ। तुलनात्मक रूपमा विकसित मानिने तराईका जिल्ला कैलाली र कञ्चनपुरका सहरी क्षेत्रहरूमा पहाडी जिल्लाको तुलनामा बदर मतको प्रतिशत उच्च रहेको तथ्यांकले देखाएको छ।

निर्वाचन आयोगका अनुसार प्रदेशभर प्रत्यक्षतर्फ ५.८४ प्रतिशत र समानुपातिकतर्फ ४.७१ प्रतिशत मत बदर भएका छन्। हिमाली जिल्ला बाजुरामा प्रत्यक्षतर्फ २.९८ प्रतिशत मात्र मत बदर हुँदा प्रदेशको अस्थायी राजधानी धनगढी पर्ने कैलाली क्षेत्र नम्बर ५ मा ५.४८ प्रतिशत मत बदर भएको छ।

कैलाली–५ मा ६५ हजार ७५२ मत खसेकोमा तीन हजार ६०५ मत बदर भएका छन्। यो क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ पर्छन्। यहाँ एक लाख १० हजार ६२९ मतदातामध्ये ५९.४८ प्रतिशतले मतदान गरेका थिए। समानुपातिकतर्फ पनि ६६ हजार २९५ मत खसेकोमा दुई हजार ८०७ (४.२३ प्रतिशत) मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

AD

कञ्चनपुर क्षेत्र नम्बर ३ मा भने प्रत्यक्षतर्फ सुदूरपश्चिमकै सबैभन्दा बढी ८.०१ प्रतिशत मत बदर भएको छ। यहाँ एक लाख तीन हजार ८७ मतदातामध्ये ५८ हजार २०९ जनाले मतदान गरेका थिए, जसमा चार हजार ६६३ मत बदर भएका छन्। भीमदत्त र दोधाराचाँदनी नगरपालिका तथा बेदकोट नगरपालिका वडा नम्बर ८ पर्ने यस क्षेत्रमा समानुपातिकतर्फ पनि ५.८१ प्रतिशत मत बदर भएको छ।

AD

निर्वाचन कार्यालयका अधिकारीका अनुसार महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा बदर मत धेरै देखिएको छ। मतपत्रमा गलत ठाउँमा छाप लगाउने, एउटै मतपत्रमा दुई वा तीनवटा छाप लगाउने तथा कतिपयले ल्याप्चे लगाउने जस्ता कारणले मत बदर भएको पाइएको छ। मतदाता शिक्षा प्रभावकारी नपुगेको हुनसक्ने अनुमान पनि गरिएको छ।

कैलाली क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ ७.२१ प्रतिशत र समानुपातिकतर्फ ५.४९ प्रतिशत मत बदर भएको छ। यहाँ टीकापुर बजार तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा मतदाता रहेका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिमभर प्रत्यक्षतर्फ आठ लाख ७४ हजार मत खसेकोमा ५१ हजार ५६ मत बदर भएका छन् भने समानुपातिकतर्फ आठ लाख ८४ हजार १७७ मतमध्ये ४१ हजार ६२४ मत बदर भएका छन्। प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

बदर मत धेरै हुँदा निर्वाचन परिणाममा पनि प्रभाव पर्न सक्ने जानकारहरू बताउँछन्। केही क्षेत्रमा जित–हार निकै कम मतान्तरले भएको उदाहरण छन्। अछाम–१ मा पाँच सय २६ मतान्तरले विजयी भएको निर्वाचनमा १,३०८ मत बदर भएका थिए।

यसबीच, तराईका सहरी क्षेत्रमा बदर मत उच्च हुँदा विकट हिमाली जिल्ला बाजुरामा भने बदर मत सबैभन्दा कम देखिएको छ। बाजुरामा प्रत्यक्षतर्फ ४५ हजार २५२ मतमध्ये १,३४६ र समानुपातिकतर्फ ४५ हजार ६६९ मतमध्ये १,२०० मत (२.६३ प्रतिशत) बदर भएका छन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार यसपटक प्रत्यक्षतर्फ बदर मत २०७९ को निर्वाचनको तुलनामा ०.८९ प्रतिशतले घटेको छ। प्रदेशभर ७३४ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा एक–एक जना स्वयम्सेवक परिचालन गरिएको थियो।

उनले समग्रमा बदर मत घटेको भए पनि अझै कम गर्न आवश्यक रहेको बताए। उनका अनुसार कम मतान्तर भएका क्षेत्रमा बदर मतले निर्वाचन परिणाममा प्रत्यक्ष असर पार्न सक्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार