धनगढी – आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले सुदूरपश्चिम प्रदेशमा खाद्य तथा दाना उद्योग, बजार र होटल–रेष्टुरेन्टको व्यापक अनुगमन गरेको जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १० वटा उद्योगलाई अनुमति पत्र जारी गरिएको छ भने २८ वटा उद्योगको अनुमति नवीकरण गरिएको छ। साथै २४ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको कार्यालयले जनाएको छ।
यस अवधिमा बजार तथा उद्योग अनुगमनलाई तीव्र बनाउँदै कार्यालयले ३९ पटक खाद्य बजार, २६ पटक होटल तथा रेष्टुरेन्ट, ४७ वटा खाद्य उद्योग, १ वटा दाना उद्योग र १ पटक दाना बजार अनुगमन गरेको छ।
अनुगमनका क्रममा म्याद गुज्रेका, मिसावट भएका तथा गुणस्तरहीन खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ। कार्यालयका अनुसार हालसम्म करिब रु १ लाख ७२ हजार बराबरका अखाद्य वस्तु नष्ट गरिएको छ। नष्ट गरिएका वस्तुहरूमा पाउडर दूध, सस, मसला, मिश्रित दाल, जिरा, पटक–पटक प्रयोग गरिएको तेल, फ्लेभर र फलफूलका जुस लगायत रहेका छन्।
त्यस्तै, खाद्य निरीक्षणका क्रममा बजार तथा होटल–रेष्टुरेन्टबाट विभिन्न नमुना संकलन गरी परीक्षण गरिएको छ। हालसम्म ५० वटा खाद्य नमुना, ११० वटा खाद्य स्वच्छता सर्वेक्षणका नमुना तथा २०० वटा तरकारी र फलफूलमा विषादी अवशेष परीक्षणका लागि नमुना संकलन गरिएको कार्यालयले जनाएको छ।
संकलित नमुनामध्ये कुल ७५६ वटा नमुनाको विश्लेषण गर्दा केही नमुनामा गुणस्तर मापदण्ड विपरीत परिणाम देखिएको कार्यालयले जानकारी दिएको छ।
यस्तै, खाद्य स्वच्छताको आधारमा यस अवधिमा १४ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको छ।
कार्यालयले अनुगमन, अनुमति तथा प्रयोगशाला सेवा लगायतबाट रु ७ लाख ३० हजार ९७१ राजस्व संकलन गरेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्