खाडी मुलुकमा इरानी आक्रमण, तेल प्रतिब्यारेल १०० डलर नाघ्यो


काठमाडौं । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । बिहीबार बिहान मात्रै दुई तेल ट्यांकरमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ ।

तेहरानले खाडी क्षेत्रका छिमेकी देश तथा इजरायलतर्फ नयाँ आक्रमणको लहर चलाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ । इरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई ‘ध्वस्त पार्न सक्ने’ दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः पराजयको दिशामा पुगेको दाबी गरेका छन् । यद्यपि, उनले युद्ध तत्काल समाप्त नहुने चेतावनी पनि दिएका छन् । 

अमेरिकाले इरानको पूर्वाधारमा आक्रमण गर्न सक्ने संकेत दिँदै त्यसको पुनर्निर्माण गर्न एक पुस्ता लाग्न सक्ने ट्रम्पको धम्की छ । 

अमेरिका र इजरायलले सुरु गरेको यो युद्ध विस्तार हुँदै जाँदा क्षेत्रका विभिन्न देशहरू प्रभावित भएका छन् । लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ । त्यहाँ हालसम्म ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका बताइको छ ।

खाडी क्षेत्रमा पनि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । इरानी आक्रमणपछि बहराइनले बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न आग्रह गरेको छ । साउदी अरेबियाले सायबाह तेल क्षेत्रतर्फ गइरहेका ड्रोनहरू रोकिएको जनाएको छ । ओमानको सलालाह बन्दरगाहस्थित इन्धन ट्यांकीमा ड्रोन प्रहार भएपछि त्यहाँका केही सञ्चालन अस्थायी रूपमा रोकिएका छन् ।

होर्मुज जलडमरूमध्ये आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्सनजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ । सबै चालकदल सुरक्षित छन् ।

यसअघि इराकनजिक दुई तेल ट्यांकरमा आक्रमण हुँदा कम्तीमा चालक दलका एक सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीले बताएका छन् । 

विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्ये अहिले युद्धको तनावका कारण प्रभावकारी रूपमा अवरुद्ध हुने जोखिममा पुगेको विश्लेषकहरूले बताएका छन् । इरानले पनि खाडीबाट एक थोपा तेल निर्यात हुन नदिने चेतावनी दिएको छ ।

पछिल्लो केही दिनमा मात्रै जहाजहरू संलग्न कम्तीमा चार घटना रिपोर्ट भएका छन् । एउटा थाई बल्क क्यारियरमा प्रहार हुँदा चालक दलका तीन सदस्य बेपत्ता भएको यातायात कम्पनी प्रिसियस सिपिङले जनाएको छ ।

खाडीका अन्य स्थानमा पनि ड्रोन र क्षेप्यास्त्रको खतरा बढेको छ । कुवेतमा आवासीय भवनमा लागेको ड्रोनका कारण दुई जना घाइते भएका छन् भने युएईले पनि क्षेप्यास्त्र खतराको जवाफ दिइरहेको जनाएको छ ।

यसैबीच इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्र तथा बैंकहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएको छ । त्यसपछि केही अन्तर्राष्ट्रिय कम्पनीहरूले दुबईबाट आफ्ना कर्मचारीहरू हटाउन थालेका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार स्थिर पार्न सदस्य राष्ट्रहरूलाई रणनीतिक भण्डारबाट तेल निकाल्न अनुमति दिएको छ । यसअन्तर्गत ४० करोड ब्यारेल तेल बजारमा पठाउने सहमति भएको छ, जसमा १७ करोड २० लाख ब्यारेल अमेरिकाबाट आउनेछ । 

तर, यो कदमले पनि लामो द्वन्द्वको डर कम गर्न सकेको छैन । विश्लेषकहरूले प्रतिब्यारेल ९० देखि १०० डलरको मूल्य केही समयसम्म नयाँ सामान्य बन्न सक्ने बताएका छन् ।
युद्धको मानवीय असर पनि तीव्र बन्दै गएको छ । बेरुतमा इजरायली हवाई आक्रमणका कारण आवासीय भवन क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दाहरूले डरले रातभर खुला ठाउँमा बस्न बाध्य भएको बताएका छन् ।

इजरायली सेनाले लेबनानभरि हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गरी व्यापक कारबाही जारी राखेको जनाएको छ । साथै इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रहार भएको पनि पत्ता लागेको बताइएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् । इजरायलमा १४ जनाको मृत्यु भएको छ भने खाडी क्षेत्रमा भएका आक्रमणमा ११ नागरिक र सात अमेरिकी सैनिकसहित २४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

न्युयोर्क टाइम्सका, अनुसार यो युद्धले अमेरिकालाई मात्रै हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गराइसकेको छ । रासस/एएफपी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार