धनगढी: नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले आफ्नो पराजय निश्चित छ भन्ने कुरा चुनावअघि नै थाहा भएको खुलासा गरेका छन्।
आज आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै भट्टले निर्वाचनको मैदानमा उत्रिनुअघि नै आफूलाई हारको आभास भइसकेको बताएका हुन् । तर, आफू उम्मेदवार भएकाले चुनावकै बेला सार्वजनिक नगरेको उनको भनाइ छ । नेतृत्वलाई घेरेर बस्ने र गलत सूचना दिने एउटा विशेष झुण्डका कारण पार्टीले यो अवस्था भोग्नुपरेको उनले टिप्पणी गरे।
नेतृत्वसँग निकट देखिन फोटो खिचाउने र अनावश्यक भीड जम्मा गर्ने समूहले वास्तविक धरातलभन्दा बाहिरको सूचना प्रवाह गर्दा पार्टीले क्षति व्यहोर्नु परेको भट्टको भनाइ छ । चुनावका बेला आफ्नै पार्टीका कतिपय नेता र कार्यकर्ताले जग्गा बेचेर चुनाव लड्न सुझाव दिएको प्रसङ्ग स्मरण गर्दै उनले राजनीतिमा बढ्दो आर्थिक मोह र संस्कारहीनताप्रति चिन्ता व्यक्त गरे। कार्यकर्ताहरू पैसाबिना चल्नै नसक्ने अवस्थामा पुग्नुले पार्टीको वैचारिक धरातल कमजोर भएको र संगठन चेन अफ कमाण्डुमा नरहेको उनले बताएका छन्।

साढे ६ लाख संगठित सदस्य भएको दाबी गर्ने पार्टीले आफ्नै सदस्यहरूको मत समेत जोगाउन नसक्नु गम्भीर विषय भएको भट्टले बताए । संगठनले जनतासँग प्रभावकारी समन्वय गर्न नसक्दा मतदाताले ुभेट्न नआएकोु गुनासो गरेको यथार्थ उनले सुनाए। अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको मतलाई विचार र सिद्धान्तभन्दा पनि एउटा सामयिक फेसनुको संज्ञा दिँदै उनले आफ्नै कमजोरीका कारण मतदाता झुक्किएको दाबी गरे।
.jpeg)
आफूले यो क्षेत्र र देशको विकासका लागि इमानदार प्रयास गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ छ । निर्वाचनमा प्राप्त जनमतलाई सम्मान गर्दै अब पार्टीभित्र निर्मम समीक्षा हुनुपर्ने र संगठनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्। पराजयका बाबजुद आफू र पार्टी विचलित नभई जनताको सेवामा सधैँ क्रियाशील रहने प्रतिबद्धतासमेत उनले जनाए।
साथै उनले प्रतिनिधि सभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने बताएका छन् । उनले नीति र नेतृत्वसम्बन्धी बहसबारे बाहिर बोल्नुको कुनै औचित्य नभएको पनि स्पष्ट पारे । नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाउनुपर्ने उनले बताए ।
‘नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक हो । त्यसलाई पार्टीको आन्तरिक छलफलमा राख्छौँ । कमिटी प्रणालीमा धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समीक्षा हुन्छ,’ उनले भने ।
उनले पार्टीको सचिवालय बैठकमा निर्वाचन परिणामको समीक्षा हुने संकेत गरे । सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाइ थियो । भट्टले जनताले दिएको जनादेश स्वीकार गर्दै पार्टी नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको स्वीकार गरे ।




प्रतिक्रिया दिनुहोस्