धनगढी: प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी सहित सात जना उम्मेदवारको धरौटी जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । कैलाली ३ मा कुल ५६ हजार ४३३ मत सदर भएको थियो भने धरौटी जोगाउन पाँच हजार ६४४ मत कम्तिमा ल्याउनुपर्ने थियो । एमालेका चौधरीले चार हजार ७५२ मत मात्रै प्राप्त गरे ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेका चौधरी सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बम, नेकपा माओवादीका अर्जुनप्रसाद कठरिया, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका लक्षीराम चौधरी, नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही र मितेरी पार्टी नेपालकी सुशीला थापामगरको धरौटी जफत भएको हो ।

निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
.jpeg)
उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी लाई नेपाल कम्प्युनिष्ट पार्टीका विरमान चौधरीप्ले ११ हजार ९८३ मत पाएका थिए । नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले छ हजार ७४७ मत पाएर धरौटी जोगाउन सफल भएका छन् ।




प्रतिक्रिया दिनुहोस्