गृहमन्त्रीद्वारा तार्केश्वरका मतदान स्थलको अनुगमन, ढुक्क भएर मतदान गर्न आग्रह

काठमाडौँ, फागुन २०  गते । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौँको तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौँ क्षेत्र नं ६ का मतदान स्थलको अनुगमन गर्नुभएको छ । बुधबार गरिएको अनुगमनका क्रममा उहाँले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिनुभयो ।

मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै समन्वयको कामलाई प्रभावकारी बनाइएको छ ।

निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचनका अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार