आसिका तामाङको उम्मेदवारी खारेज हुने’ भनिएको दाबी भ्रामक

दाबी: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आसिका तामाङको जर्मनीको स्थायी बसोबास अनुमति (पीआर) रहेको भन्दै उनको उम्मेदवारी खारेज हुने ।

तथ्य: गलत दाबी । आसिका तामाङको उम्मेदवारी खारेज हुन लागेको वा खारेज भइसकेको होइन ।

परीक्षण विधि:

सामाजिक सञ्जालमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आसिका तामाङको उम्मेदवारी खारेज हुने दाबी फैलिएको छ । बुधबारदेखि फेसबुक र केही अनलाइन पोर्टलहरूमा तामाङले जर्मनीको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएको भन्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ र निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा १४ उल्लेख गर्दै उनको उम्मेदवारी स्वतः खारेज हुने दाबी गरिएको हो ।

‘Ktm Dainik’ नामक फेसबुक पेजले ४ मार्च २०२६ दिउँसो १२:१२ बजे ‘आशिकको उम्मेदवारी खारेज हुन सक्ने’ शीर्षकमा तामाङको तस्बिरसहित पोस्ट सार्वजनिक गरेको छ। उक्त पोस्टमा जर्मनीको पीआरलाई ‘त्यहाँको नागरिक सरह’ मानिने दाबी गर्दै तामाङले नेपाली नागरिकता त्यागेको मानिनुपर्ने उल्लेख गरिएको छ। साथै, अधिवक्ता रामचन्द्र कोइरालाको भनाइ उद्धृत गर्दै ‘मतदान गर्न नपाउने व्यक्ति उम्मेदवार हुन नसक्ने’ तर्क पनि प्रस्तुत गरिएको छ ।

त्यस्तै pradeskhabar.com ले पनि ‘आशिका तामाङको उम्मेदवारी खारेज हुने !’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

दाबीको सत्यता बुझ्न हामीले निर्वाचन आयोगसँग सम्पर्क गरेको थियो । निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनले उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिन् । ‘यो होइन। यो भ्रम कसले फैलायो? यो उजुरीमा आएको विषय नै होइन,’ उनले भनिन्, ‘अहिले आइरहेका समाचार सबै अफवाह हुन् ।’

निर्वाचन आयोगका अनुसार आसिका तामाङविरुद्ध उम्मेदवारी खारेजीसम्बन्धी कुनै उजुरी दर्ता भएको छैन र आयोगले उम्मेदवारी खारेज गर्ने कुनै निर्णय पनि गरेको छैन ।

यसबिच, केही सञ्चारमाध्यमले उक्त दाबीसम्बन्धी सामग्री प्रकाशन गरे पनि पछि समाचार गलत भएको स्वीकार गर्दै माफी मागेका छन् ।

त्यसैले आसिका तामाङले जर्मनीको पीआर लिएको भन्दै उम्मेदवारी खारेज हुने वा भइसकेको दाबी पुष्टि भएन । निर्वाचन आयोगले समेत उक्त दाबी अस्वीकार गरिसकेको छ। त्यसैले आसिका तामाङको उम्मेदवारी खारेज हुन लागेको भनिएको समाचार भ्रामक हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार