धनगढीः बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा मौसमी ज्वरोको प्रकोप देखिँदा दुई बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य शाखा, पुर्चौंडी नगरपालिकाले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार १३ वर्षीय विनोद महरा र १० वर्षीय विकास महराको ज्वरोका कारण निधन भएको हो।
समुदायमा उच्च ज्वरो, रुघाखोकी, टाउको दुखाइ, वान्ता, कमजोरी तथा केहीमा स्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ। प्रभावित क्षेत्र महरागाउँका ३२ घरपरिवारसहित आसपासका गोरागाउँ र साङडी टोलका गरी करिब १०० घरपरिवार रहेका छन्। हालसम्म करिब २०० जना बिरामी परेको अनुमान गरिएको छ भने बिरामी दर घट्दो क्रममा रहेको स्वास्थ्य शाखाले जनाएको छ।
दुवै बालबालिकालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको भए पनि उपचार तथा प्रेषणका क्रममा २०८२ फागुन ११ गते विनोद र २०८२ फागुन १६ गते विकासको मृत्यु भएको उल्लेख छ। हालसम्मको प्रारम्भिक अनुमान अनुसार मौसमी भाइरल ज्वरो सम्भावित कारण हुन सक्ने बताइए पनि प्रयोगशाला परीक्षण र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने जनाइएको छ।

प्रभावित क्षेत्रमा केही घरपरिवारले बिरामीलाई समयमै स्वास्थ्य संस्थामा नलगाएको अवस्था भेटिएको छ। साथै सरसफाइ, स्वच्छ खानेपानीको अवस्था तथा फलफूल र अन्य खाद्यवस्तु तथा पिउने पानी असुरक्षित रूपमा उपभोग गरिएको हुनसक्ने प्रारम्भिक अवलोकनले देखाएको छ।
.jpeg)
घटनापछि नगरपालिकाले द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ। स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुंवर नेतृत्वको टोलीमा जनस्वास्थ्य अधिकृत, स्वास्थ्यचौकीका कर्मचारी तथा ल्याब प्राविधिक सहभागी छन्। साथै स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पताल बैतडीको समन्वयमा चिकित्सकसहितको टोली पनि खटाइएको छ।
हालसम्म ६७ जना बिरामीको स्वास्थ्य जाँच तथा प्राथमिक उपचार गरिएको छ। सक्रिय लक्षण देखिएका १० जनाबाट थ्रोट स्वाब नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ भने प्रभावित टोलको पानी परीक्षणका लागि तीन वटा नमुना संकलन गरिएको छ। आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री व्यवस्थापन गर्नुका साथै सिकिस्त बिरामीको २४सै घण्टा निगरानी भइरहेको जनाइएको छ।
वडा समितिको सहजीकरणमा बजारमा आयातित तथा अखाद्य वस्तुको बिक्री वितरणमा निगरानी कडाइ गरिएको छ। अनावश्यक जमघट, भेला तथा आवतजावत नियन्त्रण गर्नुका साथै पानी उमालेर पिउने, शुद्धीकरणका उपाय अपनाउने, साबुनपानीले हात धुने र मास्क प्रयोग गर्नेबारे समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
नगरपालिकाले अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म स्वास्थ्यकर्मी र आवश्यक औषधिसहित सेवा निरन्तरता दिने, गम्भीर बिरामीलाई तत्काल रेफरल गर्ने तथा आवश्यक परे थप रगत तथा अन्य नमुना परीक्षणको व्यवस्था गर्ने जनाएको छ। साथै खानेपानी र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै अन्य क्षेत्रमा संक्रमण फैलिन नदिन निरन्तर अनुगमन गर्ने निष्कर्ष निकालिएको छ।




प्रतिक्रिया दिनुहोस्