नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका छन्।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आइतबार भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले आफूले सँधै देश पहिले भन्दै आएकोमा अब सम्पूर्ण नेपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका हुन्।
उनले आफूप्रति मानिसहरूको प्रश्न र गुनासो रहेको पनि स्वीकार गरे।
‘मप्रति तपाईंका गुनासा होलान्, प्रश्न होलान्, मेरा कमजोरी पनि होलान्। तर तपाईंलाई यो पनि थाहा छ—देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा मैले कसैसँग कहिल्यै सम्झौता गरेको छैन, र गर्ने छैन,’ उनले भने।
उनले निर्वाचित सरकरालाई अपदस्त गरी संसद विघटन गरिएकोमा पुनः त्यही प्रतिनिधि सभाको निर्वाचन हुन लागेको बताउँदै सबै नागरिकहरूले आफ्नो कित्ता क्लिअर गर्नुपर्ने बेला पनि आएको बताए।
‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ—बनाउने कि भत्काउने, निर्माणको कि ध्वंसको। मलाई थाहा छ, धेरै भ्रम फैलाइएका छन्। अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए पनि हुन्छ भन्ने पक्षमा?,’ उनले भने।
देश पहिले भन्नाले संविधान, नियम, भूमि, जनता, सार्वजनिक सम्पत्ति, राष्ट्रिय स्वाधिनता र स्वाभिमान पहिले भन्न खोजिएको पनि उनले बताए।
‘संविधान बचे मात्र तपाईंका अधिकार बच्छन्—बोल्ने अधिकार, बाँच्ने अधिकार, न्याय पाउने अधिकार र आफ्नो मतको अधिकार। हामीलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीका लागि “देश पहिले” भन्ने भावना आवश्यक छ,’ उनले भने।
सिंहदरबार, अदालत, संसद, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय—यी सबै तपाईंको कर र भरोसाले बनेको उनले बताए।
‘यी जले भने तपाईंको भरोसा मात्र होइन, तपाईंको सपना पनि जल्छ। अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यसका लागि “देश पहिले” भन्ने प्रतिबद्धता आवश्यक छ,’ उनले भने, ‘आफ्नो माटो, आफ्नो सिमा, आफ्नो पहिचान—यी सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल हो। त्यसैले हामीलाई आफ्नो स्वाभिमान नचुक्ने ग्यारेन्टी चाहिएको छ।’
जीवनको अन्तिम मोडमा पुग्दा आफैलाई प्रश्न गर्दा जबाफ दिने नैतिक साहस बाँकी हुनुपर्ने उनले बताए।
‘जिन्दगीको अन्तिम मोडमा पुग्दा तपाईंले आफैँलाई सोध्नुहुनेछ—त्यतिबेला मैले बोल्नुपर्थ्यो कि पर्दैनथ्यो? आँखा–कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो? उठ्नुपर्थ्यो कि पर्दैनथ्यो? त्यस प्रश्नको जवाफ दिने नैतिक साहस तपाईंमा बाँकी रहोस्। “मैले राष्ट्रको पक्षमा निर्णय गरेको थिएँ” भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्,’ उनले भने।
उनले आफ्नो बाँच्ने दिन बितिसकेका दिनभन्दा कम रहेको बताउँदै आफू धेरै दिन बाँच्न बाँकी रहेकाहरूका लागि लडिरहेको बताए।
‘त्यसैले मैले सधैँ “देश पहिले” भन्दै आएको छु। अब तपाईंले पनि “देश पहिले” भन्ने दिन आएको छ,’ उनले भने।
यसपालिको चुनाव पार्टी-पार्टीबीचको मात्रै प्रतिस्पर्धा नभई देश जलाउने र बनाउनेबीचको चुनाव रहेको अध्यक्ष ओलीले बताए।
‘ भोलि कसैले तपाईंलाई कसलाई भोट हाल्नुभयो भनेर सोध्दैन। तपाईंले कुन बाटो रोज्नुभयो—बनाउने कि जलाउने—त्यो सोधिनेछ। मलाई विश्वास छ, तपाईंले बनाउने बाटो रोज्नुहुनेछ,’ उनले भने।




प्रतिक्रिया दिनुहोस्