धनगढी । फागुन २१ गते अर्थात मतदान गर्ने दिन आउन अब ४ दिन मात्र बाँकी छ । मौन अवधि सुरु हुनै लाग्दा विभिन्न दलका उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् ।
यहीबीच कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्दले मतदाताको घरघरमा पुग्दै मतदातासँग एउटै बिन्ती गरिरहेका छन्, ‘देश बदल्न भोट बदल्नुस्, घण्टी बजाउनुस् ।’
चन्दका अनुसार अब पुरानै शैलीको राजनीति दोहोराएर देश अघि बढ्दैन । उनी भन्छन्, ‘वर्षौंदेखि हामीले एउटै अनुहार, एउटै बाचा र उस्तै नतिजा देख्यौँ । अब नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ ।’
कैलाली ५ मा प्रतिनिधि सभा सदस्यको बलियो दाबेदारका रुपमा रहेका चन्दले सुशासन, पारदर्शिता, युवालाई रोजगारी, कृषि र पर्यटन प्रवद्र्धन, शिक्षा–स्वास्थ्यमा सुधारजस्ता विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् ।
स्थानीय आवश्यकता बुझेर काम गर्ने, जनतासँग प्रत्यक्ष संवादमा रहने र वाचा गरे अनुसार काम देखाउने प्रतिबद्धतासमेत चन्दले व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा चन्दलाई विशेषगरी युवा पुस्ताको साथ बढ्दो देखिएको छ । उनका समर्थकहरू परिवर्तनको लहर सुरु भएको दाबी गर्छन् ।
मतदातासँग भेटघाट गर्दै उनले सबैलाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् । अबको निर्णयले भोलिको दिशा तय गर्ने भन्दै उनल देश बदल्नुछ भने भोट बदल्नैपर्छ भन्दै मतदाताहरुलाई यसपाली घण्टी बजाउन आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्