सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन युवकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनिहरूलाई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनिहरूलाई घरेलु हातहतियार (खुकुरी) सहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१०, एयरपोर्ट बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर–१०, एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम सावद र वीरेन्द्रनगर–११, पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनार छन् । उनीहरू वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् ।
प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत खुकुरी प्रदर्शन गर्दै भिडियो सार्वजनिक गरेपछि समुदायमा त्रास फैलिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेकाले उनिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्