कञ्चनपुरः कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सहरी तथा सुगम ग्रामीण क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू घरदैलो, कोणसभा र र्यालीमा व्यस्त छन्। तर धारापानी गाउँ भने चुनावी सरगर्मीबाट पूर्णतः टाढा छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीको यस बस्तीमा हालसम्म कुनै पनि उम्मेदवार मत माग्न पुगेका छैनन्।
चुरे पहाडको काखमा रहेको २४ घरधुरीको यो गाउँ प्राकृतिक रूपमा सुन्दर भए पनि आधारभूत पूर्वाधारको चरम अभाव झेलिरहेको छ। २०१२ सालदेखि बसोबास सुरु भएको धारापानी आजसम्म पनि राज्यको नजरमा परेनजस्तै देखिन्छ। रोजगारी, सडक, खानेपानी, स्वास्थ्य र शिक्षाको अभावले यहाँको जीवन कष्टकर बनेको छ।
रोजगारी नहुँदा १५ परिवार जीविकोपार्जनका लागि भारत पलायन भइसकेका छन्। हाल गाउँमा नौ परिवार मात्र बसोबास गर्छन्, जसमा अधिकांश वृद्धवृद्धा छन्। स्थानीय बालाराम गौतमका अनुसार स्वदेशमै काम नपाउँदा युवाहरूलाई बाध्य भएर मुग्लान पठाउनुपरेको छ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा गाउँलेहरूले वर्षौँदेखि खोलाको पानी पिउँदै आएका छन्। बर्खायाममा धमिलो पानी थिग्र्याएर पिउनुपर्ने अवस्था छ। बस्तीसम्म पुग्ने सडक वर्षात् लागेपछि पहिरोले अवरुद्ध हुन्छ। हिउँदमा समेत कठिनाइका साथ हिँड्न सकिने बाटो बर्खामा पूर्ण रूपमा बन्द हुने स्थानीय रायभान ठगुन्नाले बताए।
विज्ञापन
.jpeg)
गाउँमा बिजुली विस्तारका लागि केही पोल गाडिएको भए पनि कहिले बत्ती बल्ने हो भन्ने अन्योल छ। उर्वर भूमि र पर्याप्त उत्पादन हुँदाहुँदै पनि सडक अभावका कारण फलफूल र मह बजारसम्म पुर्याउन सकिएको छैन। फलस्वरूप उत्पादन बारीमै कुहिन बाध्य छन्।
बर्खामा धारापानी खोला उर्लिँदा बस्ती डुबानको जोखिममा पर्छ। केही वर्षअघि सुरु गरिएको तटबन्ध निर्माण अधुरै छ। स्वास्थ्य सेवा अत्यन्त कमजोर छ—बिरामी पर्दा १२ किलोमिटर पैदल हिँडेर बजार पुग्नुपर्छ। बालबालिकाले चार किलोमिटर टाढाको विद्यालय पुग्न वन र नदी पार गर्नुपर्ने जोखिम व्यहोर्नुपर्छ।
वन्यजन्तुको समस्या पनि उस्तै छ। बाँदरले बाली नष्ट गर्छ भने चितुवाले गोठबाटै बाख्रा तान्ने गरेको स्थानीयले बताएका छन्। सुरक्षित गोठ निर्माण र वन्यजन्तु नियन्त्रणमा सहयोग गर्ने उम्मेदवारको खोजीमा गाउँलेहरू छन्।
विगतमा स्थानीय तहको निर्वाचनमा केही उम्मेदवार पुगे पनि यसपटक कोही नआएपछि गाउँलेहरू निराश छन्। उनीहरूले आधारभूत समस्या—सडक, बिजुली, पानी, स्वास्थ्य, शिक्षा र जग्गाधनी प्रमाणपत्र—समाधान गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई सामूहिक रूपमा मत दिने निर्णय गरेका छन्।
प्राकृतिक रूपमा धनी भए पनि विकासबाट टाढा परेको धारापानी अब पनि उपेक्षामै रहने कि निर्वाचनले यसको मुहार फेर्ने—यो भने समयले नै बताउनेछ।




प्रतिक्रिया दिनुहोस्