बोलिभियामा कार्गो विमान दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
बोलिभियाको राजधानी ला पाज नजिकै स्थानीय समयअनुसार शुक्रबार साँझ ६:२० बजे दुर्घटना भएको हो।
हर्क्युलस सि-१३० विमान एल आल्टो विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको सडक हुँदै खेतमा धसिएपछि आगो लागेको थियो।
उक्त विमानमा हालै छापिएको बोलिभियन मुद्रा ढुवानी भइरहेको थियो भनेर बोलिभियन अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एशोशिएटेड प्रेस (एपी)ले जनाएको छ।
दुर्घटनामा सडकमा गुडिरहेका करिब एक दर्जन सवारीसाधन क्षतिग्रस्त भएका र घटनास्थलमा नोटहरू छरिएका देखिएको थियो।
विमानमा लागेको आगो तत्काल घटनास्थलमा परिचालन गरिएको दमकलबाट नियन्त्रणमा लिइएको थियो।
अग्निनियन्त्रक प्रमुख पाभेल टोवारले कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरे, तर मृतकहरू विमानभित्रका यात्रु वा राजमार्गका सवारीमा सवार व्यक्ति हुन् भन्ने स्पष्ट भएको छैन।
रक्षा मन्त्री सालिनासले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।
बोलिभियन वायुसेनाका जनरल सर्जियो लोरा अनुसार विमानमा छ जना चालक दलका सदस्य थिए। जसमध्ये दुई जना शुक्रबार साँझसम्म सम्पर्कविहीन थिए। विमान पूर्वी सहर सान्ता क्रुजबाट एल आल्टोतर्फ आइरहेको थियो।
दुर्घटनापछि क्षेत्र वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको छ र थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्