रुकुम पूर्व । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उठेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुन घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
प्रत्येक टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, गुनासा र अपेक्षाहरू सुन्ने कार्यलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छन्। पुनलाई कतिपय गाउँहरूले बाजागाजासहित भव्य स्वागत गरेका छन्
स्थानीय बासिन्दाहरूले पुनसँग रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सडक तथा अन्य पूर्वाधार विकासलाई प्राथमिक मागका रूपमा उठाएका छन्।
मतदाताको मागहरूलाई आफ्नो मुख्य चुनावी एजेन्डामा समेट्दै शिक्षा सुधार, पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन र दिगो विकासलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनयुद्धका क्रममा दुवै अभिभावक गुमाएका पुन सहिद परिवारबाट राजनीतिमा उदाएका युवा उम्मेदवार हुन्। पेशाले जीव वैज्ञानिक रहेका उनी रुकुम पूर्वका सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चिनिन्छन्।
घरदैलोका क्रममा उनले भने, ‘जनताको विश्वास नै मेरो सबैभन्दा ठुलो शक्ति हो। परिवर्तन, सुशासन र समावेशी विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध भएर लागिरहेको छु।’




प्रतिक्रिया दिनुहोस्