काठमाडौँ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उनले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । सचिव राउतकाअनुसार यस निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् ।
जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् । साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिए। निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन् ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत संख्या घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएका छन् । निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ ।
कुटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिएलगत्तै गणना शुरु हुने र दुर्गम क्षेत्र बाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने अपेक्षा गरिएको बताए । विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे। निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे। —न्युज एजेन्सी नेपाल




प्रतिक्रिया दिनुहोस्