काठमाडौं । केही निर्वाचनदेखि देखिँदै आएका मुख्य सुरक्षा चुनौती हुन्, हुलहुज्जतपूर्ण गतिविधि र फर्जी मतदान । फागुन २१ मा हुने निर्वाचनका सुरक्षा चुनौतीअन्तर्गत पनि ती पक्ष छन् । तर, कहाँ र कस्ता चुनौती छन् ? निर्वाचन सुरक्षाका चार घेरामध्ये पहिलो घेराको जिम्मेवारीमा रहने नेपाल प्रहरीलाई यो प्रश्न गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले यिनै प्रश्नभित्र आधारित भएर देशभर प्रहरी परिचालनलाई तीव्र पारिएको बताउँछन् । यद्यपि, फर्जी मतदानसँग प्रहरी सम्बन्धित छैन । किनभने, मतदानस्थलमा मतदाताको नाम रुजु गर्ने र उनीहरुलाई सहजीकरण गर्ने काममा नेपाल प्रहरीसहित कुनै पनि सुरक्षा निकायका कर्मचारी खटिएका हुँदैनन् ।
उनीहरु मतदान केन्द्रका वरिपरि तहगत रुपमा छरिएर बसेका हुन्छन् । अन्य किसिमका आपराधिक वा गैरकानूनी काम भएमात्र सुरक्षा नियन्त्रण लिने कार्यादेश तोकिएको हुन्छ । त्यसैले नेपाल प्रहरीले मतदान, मतगणनास्थल र वरपर हुने सुरक्षाका सम्पूर्ण चुनौती समाधान गर्ने गरी योजना बनाएको काफ्लेले बताए ।
मतदानका क्रममा फर्जी मतदान हुने, औँलामा रेजा लगाएको वा नलगाएको, मतदाता सूचीमा रेजा लगाउनेजस्ता कुरा प्रहरीको निगरानीभित्रै हुने उनले बताए ।
‘सरकारी निकायका कर्मचारीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि त्यहाँ हुन्छन्, सबै पक्षसँग समन्वय गरेर फर्जी मतदान वा अन्य किसिमका अनियमितता पहिचान गरिनेछ’, प्रवक्ता काफ्लेले बताए । त्यस प्रयोजनका लागि नेपाल प्रहरीले देशभर ७५ हजार ३५९ जनशक्तिसहित निर्वाचन प्रहरीका रुपमा १ लाख ३३ हजार ९८० जनशक्ति परिचालन गरेको उनले बताए ।
तीनथरि सुरक्षा तयारी
नेपाल प्रहरीले सम्भावित अप्रिय घटनालाई दृष्टिगत गर्दै तीनथरि सुरक्षा विश्लेषण गरेको छ । प्रहरी प्रवक्ता काफ्लेका अनुसार सीमावर्ती जिल्ला, ‘हाइप्रोफाइल’ उम्मेदवार र विगतका निर्वाचनमा भएका सुरक्षा चुनौतीका आधारमा यसपटक सुरक्षा योजना तय भएको छ । यद्यपि, त्यसबाहेकका सुरक्षा चुनौती सामना गर्न पनि नेपाल प्रहरी तत्पर रहेको उनले बताए ।
उक्त चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले एसपी खटिने जिल्लाहरुको सुरक्षा सुपरीवेक्षण गर्न एसएसपी र डीएसपी खटिने जिल्लामा एसपी दर्जाका अधिकृत खटाइएको छ ।
मतदान र मतगणना स्थलमा अनधिकृत व्यक्तिको प्रवेश निषेधको विषयमा प्रहरीले उच्च सतर्कता अपनाउने भएको छ ।
‘त्यसका लागि हामीले शिक्षण कार्यक्रम पनि सञ्चालन गरेका छौँ, मतदान अधिकृतसहितको अनुशिक्षणमा खटिएका प्रहरीलाई सहभागी गराइएको छ’, उनले भने ।
के हो ‘पितृ’ को मतदान ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ मा सम्पन्न निर्वाचनका क्रममा स्याङ्जा जिल्लामा मृतकहरुले पनि मतदान गरेको भनी विवाद उत्पन्न भएको थियो । स्याङ्जाको क्षेत्र नं। २ मा २७ जना मृतकको नामबाट मतदान गरेको भनिएको थियो। त्यसअन्तर्गत तारा एयरको विमान दुर्घटनाका मृतकले पनि मतदान गरेको भनी विवाद भएको थियो । २०७९ जेठ १६ गते पोखरा-जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएकी चालक दलकी सदस्य किस्मी थापा मगरको नाममा मतदान भएको भनी पराजित पक्षले आरोप लगाएको थियो ।
तत्कालीन प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी एमाले उम्मेदवार पद्मा अर्याल र क्षेत्र नं. २ (ख) का उम्मेदवार महेश भट्टराईले त्यस्तो आरोप लगाएका थिए । उनीहरुले चापाकोट नगरपालिका– ३ को दिसिङकोट आधारभूत विद्यालय मतदान केन्द्र, वडा नं. ४ को राममन्दिर मावि, दार्सिङ नरसेवा मतदान केन्द्र, वडा नं. ५ स्थित जनसक्रिय मावि, चिठीपोखरी मतदान केन्द्र, दिनदयालु आधारभूत मावि, साठीमुरे मतदान केन्द्र लगायतमा मृत्यु भइसकेका, विदेशमा रहेका र अनुपस्थित व्यक्तिको नामबाट मतदान भएको भनी निर्वाचन आयोगमा उजुरी गरेका थिए ।
प्रहरी प्रवक्ता काफेलेले यसपटक त्यस्तो आरोपप्रति सचेत हुँदै प्रत्येक जिल्लामा प्रहरी सचेततापूर्वक परिचालित हुने भएको छ ।
उच्च सतर्कतामा झापा, सर्लाही र गोरखा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापाको क्षेत्र नं. ५ र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाहीको क्षेत्र नं. ४ लाई प्रहरीले सर्वाधिक जोखिमपूर्ण क्षेत्र निर्धारण गरेको छ ।
त्यसपछि गोरखालाई जोखिमयुक्त क्षेत्र निर्धारण गरेको छ । अघिल्ला निर्वाचनमा बुथ क्याप्चर सहितका गोली काण्ड हुने दोलखा जिल्लालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको प्रवक्ता काफ्लेले बताए । ‘प्रहरी नभएका कारण वा अप्रिय घटना हुँदा प्रहरी अनुपस्थित थियो भन्ने अवस्था हुने छैन’, उनले भने, ‘सकेसम्म घठटना हुन नदिने, भएमा तत्कालन नियन्त्रणमा लिने गरी योजना बनाएका छौँ ।’
प्रहरी प्रवक्ता काफ्लेले सीमावर्ती जिल्लामा हातहतियारको निर्वाध कारोबार हुने कुराप्रति अहिल्यैबाट सुरक्षा सतर्कता बढाइएको बताए ।
‘निर्वाचनका सम्भावित घटनालाई दृष्टिगत गर्दै सीमावर्ती क्षेत्रका प्रहरी टोली अहिलेदेखि नै हतिायार भित्रिने, संदिग्ध मानिसको आवतजावत हुने कुरामा उच्च सतर्क भइसकेको छ’, उनले बताए ।
(AI बाट तयार पारिएको तस्बिर)




प्रतिक्रिया दिनुहोस्