काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चार सेवालाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरेको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आयोजित बैठकमा गृह मन्त्रालयका सचिव र अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, नेपाल दूरसञ्चार प्राधिकरण तथा सेवा प्रदायकबीच समन्वय गर्ने समझदारी भएको जनाइएको छ ।
निर्वाचन अवधिमा विशेषगरी मतदान केन्द्रमा सञ्चार पहुँच सुनिश्चित गर्ने, उपलब्ध सेवाको गुणस्तर सुधार गर्ने, मर्मत तथा अनुगमनलाई तीव्र र व्यवस्थित बनाउने निर्णय गरिएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवाको निरन्तरता र प्रभावकारिताबारे कार्ययोजना बनाएर कार्यान्वयन गर्ने सहमति भएको छ ।
बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनका क्रममा दूरसञ्चार सेवा सहज, भरपर्दो र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयअन्तर्गतका सरकारी सञ्चार माध्यम र दूरसञ्चार सेवाको समन्वय सुदृढ गर्न पनि जोड दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्