कैलाली । कैलाली ४ मा विभिन्न दलका ह्याभी वेट उम्मेदवारसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले छोटो समयमै उल्लेखनीय जनसमर्थन जुटाउँदै चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएका छन् ।
सुरुवाती दिनमा गुमनाम झैँ बनेका भट्टले पछिल्लो केही दिनयता कैलाली ४ को माहोल मज्जैले तताएका छन् ।
दलगत राजनीति भन्दा माथि उठेर ‘स्थानीय मुद्दा, स्थानीय नेतृत्व’ को नारासहित मैदानमा उत्रिएका भट्ट अहिले घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् ।
गाउँ–टोलदेखि बजार क्षेत्रसम्म उनको सक्रियता बाक्लिँदै गएको छ । युवादेखि जेष्ठ नागरिकसम्म विभिन्न समूहसँग प्रत्यक्ष संवाद गर्दै भट्टले क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र आधारभूत सेवाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
चुनावी भेटघाटका क्रममा भट्टले ‘अब क्षेत्रलाई स्वतन्त्र र जवाफदेही नेतृत्व चाहिन्छ’ भन्ने सन्देश जोडतोडका साथ राख्दै आएका छन् ।
पूराना राजनीतिक दल, दलका उम्मेदवार र धेरै बोल्ने तर काम नगर्ने बानीदेखि दिक्क भएका मतदाताहरुले स्वतन्त्र उम्मेदवारी दिएका भट्टलाई विकल्पका रुपमा हेर्न थालेका छन् । तथापी निर्वाचनमा जित हासिल गर्नकै लागि भने त्यति सहज छैन । तर भट्टको पक्षमा बनिरहेको माहोललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्