निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन्। 

लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता वा नियामकमात्र रहने, भयरहित वातावरण बनाउने, स्वदेशी उत्पादन र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, एकाधिकार हटाउने, कानुन संशोधन गरी अवरोध हटाउने, लगानीलाई व्यापारभन्दा उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्नेजस्ता विषय घोषणापत्रमा समेटिएका छन्।

यद्यपि, गत भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा आफ्नो सम्पत्ति र भौतिक संरचनामाथि भएको आक्रमणका कारण निजी क्षेत्रको मनमा लागेको घाउ अझै पनि आलै छ । तसर्थ, जोसुकै दल आए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने सरकारले व्यावसायिक जगतको मनमा लागेको ठेस निको पार्न यथेष्ट प्रयास गर्नुपर्ने देखिन्छ।

अनलाइन समाचार पोर्टल ‘क्लिकमाण्डु डट कम’ले हालै सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ। प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु भएको छ। यसैगरी ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिवेदनको ठहर छ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको सो अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्याएको देखाएको छ। खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको छ।

मुलुकको कूल गार्हस्थ्य उत्पादन, पुँजी निर्माण, रोजगारी सिर्जना तथा सरकारी राजस्व परिचालनमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ। तर दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुर्याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पु¥याएको प्रतिवेदनको ठहर छ। अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन्।

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा भौतिक तथा आर्थिक क्षति भएको छ भने धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भएको छ। जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठूलो असर मनोबलमा परेको पाइएको हो।

प्रतिवेदनमा प्रमुख सूचनादाताका रुपमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन्, ‘दशकौँको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ। आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त रु भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो।’

उनका अनुसार अङ्कमा मापन गर्नै नसकिने ‘मनोवैज्ञानिक क्षति’ भौतिक क्षतिभन्दा निकै बढी छ। लगानीकर्ताको मनोबल टुट्नु र असुरक्षाको भावना बढ्नु मुलुकको दीर्घकालीन विकासका लागि निकै महँगो साबित हुने उनको भनाइ छ।

महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले भनेका छन्, ‘प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन्। तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस मैले गरेको छु। रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईष्र्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ।’

निजी क्षेत्रले जोखिम नमोल्ने र व्यवसाय नगर्ने हो भने देश सञ्चालन हुने नसक्ने भन्दै गोल्छा थप्छन्, ‘तर, हामीलाई जहिले पनि ‘नाफाखोर’ का रूपमा मात्र हेरिन्छ। हामीले जोखिम नमोले रोजगारी सिर्जना हुँदैन, सरकारले कर पाउँदैन।’ नाफा वास्तबमा खराब शब्द नभएको दाबी गर्ने गोल्छाका अनुसार व्यवसायीले कानुनको परिधिभित्र रहेर मर्यादित रूपमा नाफा कमाउँछ र कर तिर्छ। ‘केही सीमित व्यक्तिको खराबीलाई हेरी सम्पूर्ण निजी क्षेत्रलाई एकै डालोमा राखेर आक्रमण गर्नु अशिक्षाको उपज हो’, गोल्छाको भनाइ छ।

क्लिकमाण्डुको अध्ययनमा सहभागी ९८ प्रतिशत व्यवसायीले जेनजी प्रदर्शनका कारण आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिँदा दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिनुभएको छ। यो तथ्यले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गर्छ। आठ प्रतिशत व्यवसायीले लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न आफू तयार नभएको बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत व्यवसायी छन्। २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक देखिएका छन्।

‘विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ’, प्रतिवेदनमा भनिएको छ, ‘अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ।’  

प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखाएको छ। नयाँ लगानीका योजना स्थगित भएको र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ। नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन क्षीण भएको छ।

जेनजी विद्रोहका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब रु ३४ अर्ब बराबरको क्षति भएको छ। प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ, जुन करिब ८१ अर्ब रुपैयाँ छ। यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ।

समाजमा व्यवसायीलाई रोजगारी सिर्जना र राजस्वमा योगदान गरेबापत आर्थिक विकासका सारथि भन्नुपर्नेमा ‘नाफाखोर’ वा ‘शोषक’ का रूपमा हेर्ने गलत भाष्य विकास भएको महसुस उत्तरदाता व्यवसायीले गरेका छन्। खासगरी मिडिया, राजनीतिक दल र शिक्षा प्रणालीले उद्यमशीलतालाई सम्मान गर्ने संस्कृति विकास गर्न नसक्दा निजी क्षेत्रप्रति सर्वसाधारणमा नकारात्मक दृष्टिकोण हाबी भएको प्रतिवेदनको ठहर छ।

यद्यपि, जेनजी विद्रोहलगत्तै सरकारले शान्तिसुरक्षा कायम गर्न, निजी क्षेत्रका कुरा सुन्दै केही तत्कालीन राहतका प्याकेज ल्याउँदा लगानीकर्तामा केही आशा पलाएको देखिन्छ। 
    
प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा सार्वजनिक भएको यो अध्ययन प्रतिवेदनले राजनीतिक दलहरुलाई घचघच्याएको र व्यावसायिक जगतको आत्मविश्वासमा सुधार ल्याउन हदैसम्म सकारात्मकता विकास गर्नुपर्ने सन्देश दिएको क्लिकमाण्डुका अध्यक्ष पुष्पप्रसाद दुलाल बताउँछन्।

‘जेनजी विद्रोहपछिको तनाव केवल मनोवैज्ञानिक समस्या मात्र होइन, यो नेपालको निजी क्षेत्रको अस्तित्वसँग जोडिएको सङ्कट हो। राज्यले तत्काल सुरक्षाको प्रत्याभूति, विधिको शासनको पुनर्बहाली र निजी क्षेत्रमैत्री वातावरण सिर्जना नगर्ने हो भने, देशलाई दीर्घकालीन गम्भीर आर्थिक भुमरी र ठूलो बौद्धिक तथा पुँजी पलायनतर्फ धकेल्ने देखिन्छ’, दुलालले भने, ‘लगानीकर्तामा व्याप्त यस त्रासलाई बेलैमा सम्बोधन नगरे सामाजिक र आर्थिक सन्तुलन नै बिग्रने जोखिम छ।’

प्रतिवेदनका अनुसार व्यवसायीको आत्मविश्वासमा गहिरो चोट पुगेको छ भने आज पनि व्यवसायी मनोवैज्ञानिक त्रासमा बाँच्नुपरेको छ। ‘व्यवसाय गरेर नाफा कमाउनु अपराध हो र भन्ने निराशाजनक भावना र ‘धनीविरुद्ध गरिब’ को भाष्यले लगानीकर्ताको मनोबल र व्यावसायिक आत्मविश्वासलाई पूर्णतः धराशायी बनाएको प्रतिवेदनको निष्कर्ष छ।

‘लगानीको वातावरणमा गहिरो संशय व्यक्त हुँदा राज्यले शान्ति सुरक्षा र कानुनी शासनको प्रत्याभूति दिलाउन नसकेसम्म र व्यवसायीको खस्किएको मनोबल उकास्ने ठोस कदम नचालेसम्म लगानीको वातावरण पुरानै लयमा फर्कन निकै लामो समय लाग्ने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ। 

निजीक्षेत्र नै अर्थतन्त्रको इञ्जिन भएका कारण सरकारले निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र आत्मविश्वासको जागरणबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष अध्ययन प्रतिवेदनको छ। राज्य, निजीक्षेत्र र समाजमा पारस्परिक विश्वास, संवाद र सहकार्य सुदृढ गर्न सकिए मात्र नेपालको अर्थतन्त्रलाई स्थायित्व र दिगोपनतर्फ अग्रसर गराउन सकिने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले निजी क्षेत्रको मनोबल उकास्न तत्काल, मध्यकाल र दीर्घकालमा तत्तत् निकाय वा क्षेत्र गर्नुपर्ने कामसमेत सुझाएको छ। ‘राज्यले ‘सहजकर्ता’ को भूमिका खेल्ने, निजी क्षेत्रले ‘व्यावसायिकता’ देखाउने र समाजले ‘सम्मान’ व्यक्त नगरेसम्म लगानीको दिगो वातावरण बन्न सक्दैन, राज्यले निजी क्षेत्रलाई ‘दूध दिने गाई’ मात्र सम्झिनु हुँदैन, निजी क्षेत्रले पनि राज्यलाई ‘दुःख दिने संयन्त्र’ मात्र मान्नु हुँदैन। यी दुवैबीच विश्वासको पुल निर्माण गरेमात्र देशमा समृद्धि आउँछ, यो नै आजको एकमात्र विकल्प हो’, प्रतिवेदनको सुझाव छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार