धनगढीः गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरूको मञ्च गठन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार अत्तरियास्थित दुर्गालक्ष्मी क्याम्पसमा गठित पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको म्याराथुन प्रतियोगितालाई सम्बोधन गर्दै उनले नगरको शिक्षाक्षेत्रको गुणस्तर अभिवृद्धिका लागि पूर्व शिक्षकहरूको अनुभव र योगदान आवश्यक पर्ने बताए।
उनले विद्यालयबाट निवृत्त शिक्षकलाई समेटेर छुट्टै मञ्च गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुर्गालक्ष्मी क्याम्पसमा गठन भएको पूर्व विद्यार्थी मञ्चले सकारात्मक सन्देश दिएको उल्लेख गरे।
“दुर्गालक्ष्मीमा पूर्व विद्यार्थी मञ्च गठन हुँदा राम्रो सन्देश गएको छ,” उनले भने, “पालिका भित्र रहेका सबै विद्यालयमा पनि यस्तै मञ्च गठन गर्न आवश्यक देखिएको छ।”
नगरप्रमुख भट्टले शिक्षा क्षेत्रमा सुधार ल्याउन पूर्व विद्यार्थी र रिटायर्ड शिक्षक दुवैको सहभागिता अपरिहार्य रहेको बताउँदै त्यसका लागि पालिका सक्रिय रूपमा लागिरहेको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्