नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको नेतृत्वमा मुलुकलाई पाँच वर्षभित्र भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन्।
बिहीबार कांग्रेसको प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार अन्त्य गरी नागरिकहरूलाई हैरानीबाट मुक्त र सरकारलाई जबाफदेही बनाउने बताएका हुन्।
त्यसका लागि आयोग बनाए २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन गर्ने सभापति थापाले बताए।
‘आयोगले सबैको छानबिन गर्छ। कांग्रेसका पनि प्रत्येकको छानबिन हुन्छ। आयोगले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा नेता पनि हेर्दैन, नाता पनि हेर्दैन। यसका सिफारिस सबै कार्यान्वयन गर्छ। किन गर्छ भने नेपाललाई भ्रष्टाचार मुक्त बनाउनका निम्ति सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरियो भने विषौं वर्षपछाडि भए पनि सजाय हुने रहेछ है भन्ने मान्यता स्थापित गर्नुपर्नेछ,’ उनले भने।
सँगै भ्रष्टाचार नियन्त्रणका लागि कानुनहरू पनि बनाउने सभापति थापाले बताए।
‘अख्तियारले नीतिगत भ्रष्टाचार हेर्ने कुरालाई ६ महिनाभित्र बनाउने। कन्फ्लिक्ट अफ इन्टेरेस्ट र तोकिएको समयमा काम नगर्नू पनि भ्रष्टाचार हो भन्ने कुरालाई कानुन नै बनाएर लागु गर्ने हो,’ उनले भने।




प्रतिक्रिया दिनुहोस्