बेलौरीः कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। निर्वाचन मिति नजिकिएसँगै सिंहले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
उनले वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाभित्रका उत्कृष्ट विद्यालयलाई नमुना विद्यालयका रूपमा अनुदान प्रदान गरेर थप गुणस्तरीय र व्यवस्थित बनाउने चुनावी प्रतिबद्धता गरेका छन्। साथै यहाँका एक दर्जनभन्दा बढी सडक कालोपत्रेको काम अगाडि बढाउन पहल गर्ने उनले बताएका छन्।
सिंहले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति प्रभावकारी रूपमा लागु गर्न भ्रष्टाचार नियन्त्रण गर्न बाधक बनेका नीति संशोधन गरी सुशासन कायम गर्न पहल गर्ने प्रतिबद्धता गरे। सार्वजनिक कार्यालयमा डिजिटल गुनासो व्यवस्थापन प्रणाली तथा प्रत्येक तीन/तीन महिनामा जनतासँग र निर्वाचित भएपछि छ/छ महिनामा मतदातासँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइने सिंहले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा उल्लेख छ ।
शिक्षा क्षेत्रको सुधारका लागि तीन वटै पालिकाका सबै विद्यालयमा डिजिटल कक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा पठनपाठन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता सिंहले जनाए। तीन वटै पालिकास्थित विद्यालय कर्मचारी, बाल विकासका सहयोगी कार्यकर्ता, राहत तथा अनुदान शिक्षक र विद्यालयको आन्तरिक स्रोतबाट नियुक्त शिक्षक कर्मचारीलाई स्थानीय, प्रदेश र सङ्घ सरकारको एकीकृत नीति अनुसार सेवा सुविधा तथा पेसागत सुरक्षाको ग्यारेन्टीका लागि पहल गरिने प्रतिबद्धता गरेका छन्।
साथै शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गरेर सामुदायिक विद्यालयको शिक्षालाई पूर्णतया निःशुल्क गर्न तह अनुसार शिक्षक दरबन्दीको व्यवस्थापन गर्न पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
थारू समुदायमा देखिएको सिकलसेल तथा दीर्घरोगको उपचारका लागि पाइने अनुदान वृद्धि गरी प्रभावकारी र सुलभ उपचारको व्यवस्था गरी नगर अस्पताललाई सुविधासम्पन्न आधुनिक नगर अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता सिंहले जनाएका छन् । तीन वटै पालिकामा सञ्चालित सहरी स्वास्थ्य केन्द्रहरूमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी र निःशुल्क औषधीको व्यवस्था गरिने प्रतिबद्धता उनले गरेका छन्। प्रत्येक वडामा निर्माणाधीन खानेपानी तथा सरसफाइ योजनाहरूको निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्थापन गरिने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख छ ।
कृषि तथा पशुपालन क्षेत्रमा सुधार गर्नुका साथै प्रत्येक पालिकामा एक÷एक चिस्यान केन्द्र स्थापनाका लागि पहल गरिने सिंहले प्रतिबद्धता गरेका छन् । कृषिजन्य उद्योग स्थापना, सञ्चालन र विकासमा जोड दिइनुका साथै मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति न्यूनीकरणका लागि वनसँग जोडिएका बस्ती क्षेत्रमा ‘मेसवायर’ जडानका लागि पहल गरिने प्रतिबद्धता जनाएका छन्।
दैजीचोकदेखि छेलाबजारसम्म चार लेनको सडक निर्माणका साथै सुडा, पुतलीबजार, चुनेपानी हुँदै परशुरामधाम जोड्ने सडक कालोपत्रेसहित बङ्क–नायल सडक कालोपत्रे गरिने सिंहले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
तीन वटै पालिकामा निर्माणाधीन नगर चक्रपथलाई यथाशीघ्र निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, पर्यटकीय स्थल सिद्धसरोवर, लिङ्गेश्वर, वेदकोटधाम, मणिकाधाम, कृष्णसार संरक्षित क्षेत्र, बतासे झरना, ग्वासी समैजीसम्म धार्मिक पर्यटकीय जैविक मार्ग निर्माण गरिने प्रतिबद्धता सिंहले जनाउनुभयो । त्यसै गरी वेदकोट–३ स्थित चौधर नदी, वेदकोट–४ स्थित बगुनखोलामा पक्की पुल, कृष्णपुर–७ स्थित पधनियाघाट र अत्तरिया जोड्ने नदीमा पक्की पुल निर्माण गरिने वाचा उनले गरे ।
सिंहले निर्वाचन क्षेत्रस्तरमा बहुउपयोगी रङ्गशाला निर्माणका लागि पहल गर्ने, लागुऔषध दुव्र्यसन जस्ता विकृति रोकथामका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट युवालाई रोजगारीमा संलग्न गराउनुका साथै समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, भेदभाव जस्ता समस्या समाधान गरी सहिष्णुता कायम गर्ने र सत्कार्यमा नवयुवालाई जिम्मेवार बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
तत्कालीन शुक्लाफाँटा आरक्षपीडितलाई क्षतिपूर्ति दिलाउनुका साथै प्रतिपरिवार १० कट्ठा या ६० लाख रुपियाँ उपलब्ध गराउन आवश्यक पहल गरिने उनले प्रतिबद्धता जनाएका छन्। विगतका आयोगबाट पाएका जग्गाधनी पुर्जाहरूलाई चलन भोगका आधारमा कित्ता मिलान गर्न कानुनी रूपमा व्यवस्था गरिने, मुक्त कमैयाका जग्गाधनी प्रमाण पुर्जालाई फुकुवा गराई धितो राखेर ऋण लिने व्यवस्थाको पहल गरिने जनाइएको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसबाट नारायणप्रकाश साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीर्थराज चटौत, नेपाल कम्युनिस्ट पार्टीबाट माधवप्रसाद पन्त, राष्ट्रिय जनमोर्चाबाट रामबहादुर कार्की र नेपाल मजदुर किसान पार्टीबाट सीताराम रानालगायत उम्मेदवार रहेका छन्।




प्रतिक्रिया दिनुहोस्