कैलालीमा निर्वाचन प्रहरी पोशाकविहीन : घरकै कपडामा ड्युटी गर्न बाध्य

धनगढी, ४ फागुन/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल प्रहरी मातहत खटिएका निर्वाचन प्रहरीले आवश्यक पोशाक नपाउँदा घरकै कपडामा ड्युटी गर्न बाध्य भएको तथ्य बाहिर आएको छ। निर्वाचन आउन अब १६ दिन मात्र बाँकी रहँदा यस्तो अवस्था देखिनु व्यवस्थापन पक्षमाथि गम्भीर प्रश्न खडा भएको छ।
निर्वाचन सुरक्षामा खटिएका एक प्रहरीका अनुसार पोशाक अभावका कारण ड्युटीका बेला आफूहरूलाई नागरिकले प्रहरी भनेर चिन्नै गाह्रो हुने गरेको छ। “ड्युटीमा हुँदा नागरिकले प्रहरी भनेर चिन्न सक्दैनन्, यसले सुरक्षा व्यवस्थापनमै असर पर्छ,” उनले भने।
कैलालीका विभिन्न स्थानीय तह तथा मतदान केन्द्र आसपासमा परिचालित सुरक्षाकर्मीलाई समयमै पोशाक वितरण हुन नसक्दा उनीहरू असहज परिस्थितिमा काम गर्न बाध्य भएका छन्। निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा खटिएका सुरक्षाकर्मी नै आधारभूत सामग्रीबाट वञ्चित हुनु व्यवस्थापन कमजोरीका रूपमा हेरिएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पोशाक आजै कैलाली आइपुग्ने जानकारी दिए। “आज ड्रेस आइपुग्छ होला, आएपछि २/३ दिनभित्र सबैले पाउँछन्,” उनले बताए।
निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार १८ माघदेखि सुरु भएको तालिम २७ माघसम्म सञ्चालन गरिएको थियो। तालिम सम्पन्न भइसक्दा समेत पोशाक वितरणमा ढिलाइ हुनु व्यवस्थापन पक्षको तयारीमाथि प्रश्न उठेको छ।
सरोकारवालाहरूले निर्वाचनजस्तो संवेदनशील कार्यमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सामग्री समयमै उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार